
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता हरिबोल गजुरेलले पार्टीभित्र प्रचण्डपथ ब्यूँताउनुपर्छ भन्ने मत नरहेको बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रममा कुरा गर्दै नेता गजुरेलले भने, “माओवादीमा कसैले पनि प्रचण्डपथ ब्यूँताउनुपर्छ भनेका छैनन् ।
प्रचण्डपथ भनेको नाम मात्र होइन, यसका अन्तर्वस्तु र अरुका अनुभव पनि जोडेर विकासको सन्दर्भमा आएको थियो । यसको सारतत्व छलफल नगरीकन स्थगन गर्दा सुखद परिणाम आएन । वैचारिक बहस हुन सकेन । गुट मौलाउँदै गयो । टुटफुट बढ्दै गयो भन्ने समीक्षा भएका मात्र हुन् ।”
माओवादी नेता गजुरेलले विगतका कमीकमजोरी समीक्षा गर्दै अघि बढ्ने ढंगले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदन आएपछि प्रफुल्ल हुने स्थिति रहेको बताए । उनले थपे, “राजनीतिक प्रतिवेदन झालेमाले हुने हो कि भन्ने एकखाले चिन्ता थियो ।
प्रचण्डले माओवादी पार्टीलाई क्रान्तिकारी धार दिन सक्नुहुन्छ कि हुन्न, भन्ने प्रश्न पनि उठिरहेको थियो । विगतका कमीकमजोरी समीक्षा गर्दै अघि बढ्ने ढंगले राजनीतिक पतिवेदन आएपछि प्रफुल्ल हुने स्थिति आएको छ ।” अरु संसदवादी पार्टी र माओवादी उस्तै उस्तै देखिएको पनि उनले स्वीकारे ।
गजुरेलले थपे, हो, विगतमा अलिकति अलमलिएको र क्रान्तिकारी धार भुत्ते हुँदै गएको चिन्ता थियो । अब पृथक धार बनाएर अघि बढ्छौं । माओवादी ठीक भए अरु पार्टी पनि ठीक हुन बाध्य हुनुपर्छ । अब पार्टीलाई नयाँ ढंगले व्यवस्थित गर्नुपर्छ ।” बाम लोकतान्त्रिक गठबन्धनलाई बलियो बनाउँदै समान
विचारका पार्टी एकता गर्ने प्रचण्डको विचारमा स्थायी समिति सदस्यहरु दृढतापूर्वक उभिएकाले सर्वसम्मत नेतृत्व चयन हुने उनले विश्वास व्यक्त गरे । उनले भने, “प्रचण्डले प्रतिगमन विरोधी आन्दोलनमा श्रेष्ठता देखाउनुभयो, त्यो स्पिरिट अहिले पार्टीमा पनि देखाउनुभएको छ ।”