‘खोप नलगाएका र यसअघि संक्रमण नभएकाहरु ओमीक्रोनको उच्च जोखिममा’- डा. पुन

सरुवा रोग विशेषज्ञ तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा.शेरबहादुर पुनले ओमीक्रोन भेरिएन्टको जोखीम खोप नलगाएका र पहिले संक्रमण नभएकाहरुमा बढी रहेको बताएका छन् ।

आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा बोल्दै उनले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै पुनले भने ‘डेल्टा भेरियन्ट भन्दा ओमीक्रोन केहिँ कमजोर देखिन्छ । तर, खोप लगाउन बाँकी रहेका र पहिला संक्रमति हुन बाँकी रहेकाहरु यसको उच्च जोखिममा हुनुहुन्छ । त्यसैले हामीहरुमा पनि ओमीक्रन भाइरस आएको हुनसक्छ ।

हामीले थाहाँ नपाएर गइसकेको पनि हुन सक्छ । तर, हामीहरुबाट खोप नलगाएकाहरुसम्म त्यो भाइरस पुग्यो भने उहाँहरुलाई जोखिम हुनसक्छ । त्यसैले खोप नलगाएका व्यक्तिहरु यसबाट सतर्क हुन जरुरी छ ।’ यस्तै, उनले ओमीक्रोन तिब्र गतिमा फैलिने तर, सोहि गतिमा हराउने प्रक्षपणहरु भइरहेका बताउदै अहिलको अवस्थामा सरकारले लकडाउन गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताए ।

प्रस्तुत छ कुराकानीको सम्पादित अंशः

विश्वभर ओमीक्रोन भाइरस फैलिरहेको छ, नेपालमा पनि देखिन थालेको छ । अहिले नेपालको अवस्था कस्तो छ ?

नेपालमा स्वास्थ्य मन्त्रालयको हिजोको तथ्यांकले के देखाउछ भने ओमीक्रोन हिजोआज मात्र होइन् यो केहि समय अगाडी देखि नै फैलिदो क्रममा रहेको रहेछ भन्ने देखिन्छ । झण्डै एक चौथाइमा ओमीक्रोन संक्रमित भएको पाइएको छ । यसलाई विजुलीको गतिमा फैलिन सक्ने भाइरसको रुपमा हामीले यसलाई लिने गरेका छौं ।

यो धेरै नै छिटो फैलिएको मैले देखेको छु । मलाई लाग्छ जसलाई ओमीक्रोन देखिएको छ उहाँहरुलाई स्वास्थ्यमा धेरै ठूलो समस्या छ जस्तो मलाई लाग्दैन् । तसर्थ यो छीटो फैलिन सक्छ भन्नेमा दुईमत रहेन तर, यो ओमीक्रोन डेल्टा भेरियन्ट भन्दा केहि कमजोर हो की भन्ने मैले पाएको छु । मैले यसो भन्दैगर्दा खोप लगाउन बाँकी रहेका र पहिला संक्रमति हुन बाँकी रहेकाहरु यसको उच्च जोखिममा हुनुहुन्छ ।

त्यसैले हामीहरुमा पनि ओमीक्रन भाइरस आएर थाहाँ नपाएर गइसकेको पनि हुन सक्छ । तर, हामीहरुबाट खोप नलगाएकाहरुसम्म त्यो भाइरस पुग्यो भने उहाँलाई जोखिम हुनसक्छ । हुन त सबैले यसलाई अर्को लहरको प्रक्षपण गरिसकेका छन् । तर, संक्रमतिको संख्या र अस्पताल भर्ना हुने यो दुई चिजलाई दुई फरक हिसाबमा हेर्नुपर्छ । यसलाई दुईवटा लहरमा बाड्नुपर्छ जस्तो मलाई लाग्छ ।

अहिलेको अवस्थालाई हेर्दा यो नेपालको समुदाय स्थरमा पुगिसकेको देखिन्छ । त्यसैले खोप लगाउनमा सरकारले तिब्रता दिनपर्यो । खोप लगाएका व्यक्तिमा यो धेरै कम देखिएको छ । विश्वभर नै यसको उतारचढाप हेर्दा यस्तो देखिएको छ । मृत्युको संख्या नबढ्नुले पनि यसलाई संकेत गर्छ ।

हिजो स्वस्थ्य मन्त्रालयको विज्ञप्ती पछि सरकारले पनि हिजोबाट केहिँ तदारुकता देखाएको जस्तो देखिन्छ । जनातमा पनि पुनः त्रास बढेको छ, यसरी आक्तिनु पर्ने अवस्था छ ?
यो तिब्र गतिमा फैलिने भाइरस हो तर, डेल्टा भेरियन्ट भन्दा कम घातक भाइरस हो भनेर यसलाई बुझ्न सकिन्छ । यसको कारणमा चाहीँ तिनवटा हुनसक्ने मैले प्रस्तुत गरे । त्यो भनेको डेल्टा भेरियन्टको प्रादुरभाव पछि अत्याधिक मान्छेहरुले खोप लगाउनु, डेल्टा र ओमीक्रोनको बिचमा धेरै मान्छे संक्रमित भइसक्नु अथवा ओमीक्रोन आफैमा एकदम धेरै म्युट्रेसन भएर डेल्टा भन्दा कम घातक हुनु ।

यो तिनवटा कारणसँग सम्बन्धीत भएर यसको घातकता केहि कम भएको होकी जस्तो मलाई लाग्छ । विश्वभर भएका कतिपय अनुसन्धानहरुले पनि यस्तो देखाउछ । साथै, नतिजाहरुले पनि यस्तो देखाउछ ।

यसबाट बच्नको लागि अब हामीले कस्ता खालका साबधानी अपनाउनुपर्छ, कसरी बच्नुपर्छ ?
यसमा कुनै नौलो कुरा छैन् । हामीले विगतमा जस्ता खालका सावधानीहरु अपनाएका थियौं । यसमा पनि त्यहिँ नै लागु हुन्छ । भन्नुको मतलब सरकारले भन्दै आएको छ जनस्स्थ्यको मापदण्ड जुन हामीले गर्दै आएका छौं । यसमा चाहीँ मलाई लागेको अर्जुनदृष्टी भनेको चाहीँ अस्पताल भर्ना हुनसक्ने जुन संभावना रहेको छ त्यसलाई रोक्ने हो ।

त्यो कसरी रोक्ने भन्दा खोप नै यसको निर्विकल्प उपाय हो भन्ने मैले देखेको छु । त्यसैले संख्याको टाउँको गन्दै जादाँ अस्पताल भर्ना हुनेको लर्को छ यसलाई फरक तरिकाले हेरौं भन्ने मलाई लाग्छ । यसले धेरै मान्छेलाई सामान्य रुघाँखोकीको जस्तो लक्ष्यणहरु देखाउने भन्ने कुरा रहेको छ । हिजोसम्म भारतमा संक्रमितको संख्या एक लाख पार गर्दैगर्दा मैले बुझेअनुसार दुई जनाको मात्र मृत्यु भएको देखिन्छ ।

तर, ति व्यक्तिहरु यसअघी नै अन्य रोगबाट ग्रसित रहेका थिए । त्यसैले यो बारेमा मैले ओमीक्रोन फोबिया भन्ने गरेको छु । यो पाल्नुभन्दा पहिलो कुरा त हामी आफै सतर्क रहनुपर्छ । भ्याक्सिन लाउन बाकीँ रहेको व्यक्तिसँग टाढा रहौं । मुख्य कुरा भनेको मैले अघि पनि भने थोरै व्यक्तिलाई अस्पताल जानसक्ने हुनसक्छ, त्यसमा खोप नलगाएका र पहिले संक्रमित नभएका नै पर्छन् भन्ने मलाई लाग्छ । त्यो कारणले गर्दा खोप लगाउन पर्छ ।

नयाँ भेरियन्टको रुपमा ओमीक्रोन आइसकेको छ, तर सरकारले स्वास्थ्य संस्थामा प्रभावकारी तयारी गरेको छैन् । यसले पछि समस्या ल्याउनसक्छ भन्नेलाई तपाई के भन्नुहुन्छ ?
यसमा त कुनै पनि रोग फैलिन भन्दा अघिनै हामीले तयारी गर्नुपर्छ । मैले खाली अघिल्लो भेरियन्टसँग तुलना गरेर मात्र यो कुराहरु भनेको हो । १८ वर्ष माथिकाहरुले खोप लगाएको जुन प्रतिशत रहेको छ, त्यसले के देखाउछ भने अहिलेपनि खोप लगाउन बन्चीत धेरै छन् भन्ने देखाउछ । खोप नलगाएका र संक्रमित नभएकाहरुलाई अन्य भन्दा जोखिम भएको हुँदा उनीहरुलाई मध्यनजर गरेर हाम्रो स्वास्थ्य संरचनालाई तयारी राख्नुपर्छ ।

बालबालिका पनि यसको जोखिममा रहेका छन् ।

तर, खोप अभियान सुस्तरुपमा चलिरहेको छ भन्ने कुरा छ, किन यस्तो भइरहेको होला ?
मेरो विचारमा यो तयारीको कमी नै हो । यसअघि पनि मैले भनेको थिए । लगभग ५० प्रतिशत पार गर्दैगर्दा बाँकीले किन नपाएको ? भन्ने हो । अथवा खोप लगाउनेको प्रतिशत बढेन भन्ने हो । त्यस्तो किन भयो भनेर मैलै बुझ्दा के पाए भने, पहिलो कुरा अशक्त बृद्धबृद्धाहरु जसले खोप केन्द्रसम्म पुगेर खोप लगाउन सक्नुहुन्न् । दोस्रो भनेको दैनिकरुपमा ज्यालादारि काम गर्ने जसलाई दैनिक काम नगरे परिवार पालन गाह्रो हुने, अर्को चाहीँ

एउटा सानो समूह रहेको छ जसलाई खोप प्रति विश्वास छैन् । यी तिन खालका समस्याको समाधान गर्ने खालको मेकानिजम हुनुपर्छ । मैले बारबार भन्दै आएको पनि थिए । यसलाई संबोधन गरेपछि मात्र खोप लगाउनेको प्रतिशत बढ्छ भन्ने मलाई लाग्छ । यो विश्वभरकै समस्या हो । सम्बन्धीत निकायले यसबारे ध्यान दिन जरुरि रहेको छ ।

सरकारले जेष्ठ नागरिक र द्रिघ रोगिहरुलाई खोप लगाउने, बुष्टर डोज पनि दिने भनेको थियो, तर अहिले आएर स्थगित गरेको छ । यसको पनि असर परेको हो ?
यो चाहीँ सरकारले किन स्थगण गरेको हो भन्ने बारे म पनि जानकार छैन् । किनभने म त्यो ठाउँमा छैन् । तर, यो निर्णयलाई अगाडी बढाएको भए राम्रो हुनेथियो भन्ने मलाई लाग्छ ।

सवधानि अपनाउनुपर्छ भन्नुभयो, अहिलेको अवस्थामा खुल्ला सिमा नाका बन्द गर्नुपर्ने अवस्था हो ?

मैले आजको दिनमा यस्तो अवस्था देखेको छैन । नाका बन्द गर्नुपर्ने, लकडाउन गर्नुपर्ने कारण अहिलेको अवस्थामा मैले देखेको छैन ।

सरकारले स्मार्ट लकडाउनमा जानुपर्ने हुनसक्छ भनेको छ, त्यसको आवस्कता छ ?
त्यो पहिलो पनि गरेको हो । तर, तपाईं हामीले स्माट लकडाउनको अनुभव कहिलेपनि गरेनौं । त्यो बेलामा सबै जनजिवन सामान्य नै थियो जस्तो मलाई लाग्छ । त्यसकारणले गर्दा पहिला जस्तो लकडाउन गर्नुपर्ने कारण म केहिँ पनि देख्दैन् र अन्य देशमा हेर्दा ओमीक्रोन ठूलो संख्यामा फैलिएपछि पनि लकडाउन गरेर नियन्त्रण गरेको मैले कतैपनि देखेको छैन ।

अझ के कुरा छ भने यो जसरि तिब्ररुपमा फैलिन्छ त्यसरि नै हराउने प्रक्षपण गरिएको छ । त्यसैले यसबाट सतर्क हुनपर्यो, सावधानि अपनाउन पर्यो तर, यसबाट त्रसित हुनुपर्ने अवस्था म देख्दैन । तर, पनि खोप नलगाए र संक्रमण नभएका व्यक्तिहरुमा भने जोखिम छ । ओमीक्रोन मात्र होइन् डेल्टा पनि घुमिरहेको अवस्थामा एक चौथाईमा ओमीक्रोन देखिनु भनेको त बाँकीमा डेल्टा नै होला ।

त्यसैले डेल्टाले केहि अधिपत्य जमाएको देखिन्छ । यो भन्दैगर्दा सायद अबको केहि हप्तामा ओमीक्रोनले डेल्टालाई प्रतिस्थापन गर्ने संभावना बलियो देखिन्छ ।