जीवनमा कस्ता साथी काम लाग्दैनन् ? जानिराखौँ

एजेन्सी। हाम्रो जीवनमा राम्रो साथी र सुसंगतको धेरै महत्त्व छ। बुवाआमा र ज्येष्ठहरूबाट पाएको अनुभवको ज्ञानजत्तिकै साथीबाट ज्ञान पाइन्छ। संगतले जीवनमा ठूलो प्रभाव पार्छ। खराब साथीसँग संगत बन्यो भने हामी सफलताबाट टाढा पुग्छौं। आफ्नो बहुमूल्य समय नालायक साथीसँग गुजार्नु हुँदैन। कस्ता साथी काम लाग्दैनन्, तल बताइनेछ।

जतिखेर पनि आलोचना गर्ने साथीको काम छैन । आफूले कडा मेहनत गरेर राम्रो गन्तव्य हासिल गरेपनि त्यसको प्रशंसा नगरेर ईर्ष्यावश आलोचना गर्ने साथीलाई कसरी राम्रो भन्न सकिएला र ? कोही साथी चाहिँ जसरी भएपनि आफ्नो कुरा मान्नुपर्ने सोच पाल्छन्। यस्ता साथीले कहिलेपनि तपाईंको भलो चाहँदैनन्। यिनीहरूबाट टाढै बस्नु ठीक।

स्वार्थपूर्ति गर्नका लागि मात्र साथी बनाउनेबाट पनि टाढै बसेको जाती। आफूलाई काम पर्दा मात्र सम्पर्कमा आउने यस्ता साथीसँग बस्नु भनेको समयको बर्बादी मात्र हो। नकारात्मक सोच भएका साथी परे भने आफ्नो दृष्टि पनि नकारात्मक हुन पुग्छ। यसले हामीलाई सफलतातर्फ जान दिँदैन। यस्ता साथीलाई बाईबाई गरेको ठीक।

कुनै कुनै साथी चाहिँ हो मा हो मिलाउने खालका मात्र हुन्छन्। तपाईंले कुनै कुरा राख्दा सोचविचार नगरिकनै हो भनिदिने साथीले तपाईंलाई चाहिने बेलामा मद्दत गर्न सक्दैनन्। तपाईंलाई अप्ठ्यारो परेको बेलामा साथ छोडिदिने साथी पनि काम छैन। यस्ता साथी एकदमै खतरनाक हुन्छन् र यिनीहरूसँग समय बिताउनु व्यर्थ हुन्छ। कुनै बहानामा यस्ता साथीको परीक्षण गर्नु उचित हुन्छ।

सच्चा साथी हाम्रो प्रगतिबाट खुशी हुन्छन्, सही बाटो देखाउँछन्, सुखदुःखमा साथ दिन्छन् र कठिन परिस्थितिमा साथ दिन्छन्। सही सल्लाह दिने साथी नै महान् हो।