‘तीन तहको चुनाव एकै पटक गरौं’- नेता पोखरेल

काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले सरकारले तीनै तहको चुनाव एकै पटक गर्नुपर्ने बताएका छन्।

जनतासंग जनप्रतिनिधि कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले महोत्तरीको खयरमारामा यस्तो बताएका हुन्।उनले तीन वटै चुनाव एकै पटक गर्दाखेरी मोटामोटीरुपमा राज्यको खर्च पनि कम हुने धारण राखेका छन्। पूर्वस्थायी समितिका सदस्यहरुले छलफलले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई यस्तो सल्लाह दिएको सार्वजनिक गरेका छन्।

अर्को प्रसंगमा उनले सबै दल मिलेर मधेश प्रदेशलाई समृद्ध बनाउन लाग्नुपर्नेमा जोड दिए। ‘मधेश प्रदेश मानव सूचांकमा निकै पछाडि परेको प्रदेशमा पर्छ। यसलाई एकदमै माथि उठाउनुु पर्नेछ,’नेता पोखरेलले भने, ‘मतभेदलाई चर्काउने भन्दापनि सबै मिलेर प्रदेशको सूचांकलाई माथि उठाउन लाग्नुपर्छ।’ ग्रामिण भेगको विकासका लागि समुदायमा आधारित विकासको मोडेलको

खाँचो रहेको पूर्वशिक्षा मन्त्री समेत पोखरेलले बताए। जनताको आवश्यकतालाई पक्रेर विकासको प्रक्रिया अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।‘खयरमाराले अरु ठाउँको नक्कल गर्न सक्दैन। खयरमारा, खयरमारा हो। यसको आफ्नै खालको विशिष्टता छ। यसको आफ्नै भूगोल छ। समुदायको बनाव पनि छुटै प्रकृतिको छ।

यि सबै पक्षलाई हेरेर विकासको मोडेल निर्माण गर्नुपर्छ,’उनले भने। नेता पोखरेल महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य पनि हुन्। चुरे दोहनले मधेशमा वर्षेनी उर्बर जमिन मरुभूकरण हुने क्रम बढेको उनले उल्लेख गरे। ‘यसका लागि हरित अभियान संचालन गर्नुपर्छ। चुरे बचाउने अभियान सुरु गर्नुस्, यो अभियानमा म दिलोज्यानले लाग्ने छु,’जनतासंग जनप्रतिनिधि

कार्यक्रमलाई सम्बोधनका क्रममा उनले यस्तो प्रतिबद्धता व्यक्त गरे।