‘ओली गुटले भत्काउन मात्रै जानेको छ’- माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूले छाडेको नेकपा एमालेप्रतिको आक्रोशमा अझै कमी ल्याएका छैनन्।

समाजवादीका हरेक कार्यक्रममा एमालेप्रति तितो पोख्ने क्रमलाई नेपालले मंगलबार पनि निरन्तरता दिए। सन्दर्भ थियो, रामेछापका केही युवाहरुको समाजवादीमा प्रवेश कार्यक्रम। तर, नेपालले एमालेप्रति आक्रोश पोख्न धेरै समय खर्चिए।

उनले प्रमुख प्रतिपक्षी एमालेलाई पार्टीको पनि संज्ञा नदिइ गुटको ट्याग लगाइदिए। एमालेले भत्काउन मात्रै जानेको पनि नेपालले बताए। ‘प्रमुख प्रतिपक्षीले नकारात्मक मात्रै गर्न जानेको छ। केपी ओली गुटले अहिले पनि वितण्डा मच्चाइरहेको छ’, उनले

भने, ‘त्यो नकारात्मक शक्ति हो, निर्माण गर्नु छैन भत्काउनु मात्रै जानेको छ। एमालेको उद्धेश्य नै लोकतन्त्र सुदृढ होइन धुजा धुजा बनाउनु छ।’उनले अब प्रतिपक्षीबाट आश गर्ने कुनै ठाउँ बाँकी नरहेको पनि बताए।

‘अब प्रतिपक्षीबाट आशा गर्ने ठाउँ नै रहेन। तर हामी लोकतन्त्र जोगाउन चाहन्छौँ’, नेपालले भने, ‘संविधान जोगाएर विकासको अभियान अघि बढाउन चाहन्छौँ।’ उनले पाँचवटा दल मिलेर आगामी असोज, कात्तिक र मंसिरमा प्रदेश, केन्द्र र स्थानीय

चुनावमा जाने पनि बताएका छन्।