
न्युयोर्क । न्युयोर्क सिटीको म्यानहटनस्थित एक ठूलो भवनको छतमा हेलिकोप्टर दुर्घटना भएको छ। दुर्घटनामा पाइलटको मृत्यु भएको बीबीसीले जनाएको छ।
दुर्घटनापछि भवनको छतमा आगलागी पनि भएको जसलाई तत्काल नियन्त्रणमा ल्याउन सकिएको अधिकारीले बताएका छन्। दुर्घटनामा कोही पनि घाइते नभएको जानकारीमा उल्लेख छ। स्थानीय मिडियाले मृत्यु हुने हेलिकोप्टर चालकको नाम टिम म्याककोर्म्याक बताएको छ।
दुईवटा इन्जिन भएको अगस्टा A109E हेलिकोप्टरमा उनी नै एक्ला व्यक्ति सवार रहेको फेडरल एभिएसन एड्मिनिस्ट्रेसनले बताएको छ। दुर्घटना स्थानीय समयानुसार सोमबार दिउँसो करिब २ बजेको हो ।