‘राष्ट्रपतिले एमालेको भाषा बोल्न मिल्दैन’- एकीकृत समाजवादी प्रवक्ता खतिवडा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता जगन्नाथ खतिवडाले राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई लेखोट बुझाउनु घोर आपत्तिजनक भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रममा कुरा गर्दै प्रवक्ता खतिवडाले भने, “राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई जे लेखोट बुझाउनुभयो, त्यो घोर आपत्तिजनक छ । उहाँले त आफ्नो क्षेत्राधिकार र मर्यादा उल्लंघन गर्नुभएको छ । उहाँ कार्यकारी राष्ट्रपति पनि होइन, हिजोको राजा पनि होइन ।

उहाँले सरकारले लिएर गएका विषयलाई मूलतः स्वीकृत गर्ने मात्र हो । उहाँले बिलकुल गलत गर्नुभएको छ ।” राष्ट्रपतिसँग सत्तास्वार्थका लागि सरकारलाई लान्छित गर्ने अधिकार नभएको पनि खतिवडाले बताए । उनले थपे, “नेकपा एमालेले जे भनिरहेको थियो, त्यही भाषामा राजनीतिक दलको नेता जस्तो गरेर लेखोट बुझाइएको छ ।

राष्ट्रपतिसँग सत्तास्वार्थका लागि सरकारलाई लान्छित गर्ने अधिकार छैन । उहाँको आफ्नै भूमिकाका कारण पदको गरिमा घट्दै गएको छ ।” अर्को प्रसंगमा उनले स्थानीय तहको निर्वाचनमा गठबन्धन हुने कि नहुने कांग्रेसमै भर पर्ने पनि बताए । उनले भने, “कांग्रेसका कतिपय मित्रहरु कोही एक्लै जानुपर्छ भनिरहेका छन्, त्यो आवाजले जित्यो भने कांग्रेस अलग होला ।

त्यहाँ मिलेर जानुपर्छ भन्ने नेता प्रधानमन्त्री र सभापति शेरबहादुर देउवाको आवाजले जित्यो भनेर मिलेर जाने सम्भावना पनि छ । अब पर्खेर हेर्नुपर्छ । चुनावको चरित्र नै यस्तै हुन्छ ।”अर्को वर्ष चैतमा चुनाव गर्नुपर्छ भन्ने माधव नेपाल त ‘यु-टर्न’ हुनुभयो नि भन्ने पत्रकार धमलाको प्रश्नमा उनले भने, जेठभित्र चुनाव गर्न गठबन्धन तयार भयो, हामी पनि तयार पनि भयौं ।

हामीले तीन वटै चुनाव एकैचोटि गर्नका लागि छलफल, बहस गरेकै हौं । तर अहिले सबैसँग सँगै जान निर्णय गरेका छौं ।”
संविधानसँग बाझिएको ऐन संशोधन गर्नका लागि एमालेले संसद् खोल्नुपर्ने पनि प्रवक्ता खतिवडाले बताए । उनले भने, “स्थानीय तहको मिति तोक्नुभन्दा अघि आवश्यक कानुनी व्यवस्था गर्न एमालेले सहयोग गरेन भने अप्ठ्यारो पर्छ ।

संसद्बाट ऐन संशोधन गर्ने हो भने एमालेले संसद् खोल्नुपर्छ ।”