पाथीभरा जाने सडक कालोपत्र हुने

ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर जाने सडक कालोपत्र हुने भएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र हुने भएको हो ।

पाथीभरा सडकखण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म १० किलोमिटर सडक कालोपत्र हुन लागेको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग माघको पहिलो साता ठेक्का सम्झौता भइसकेको उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला) सडक योजना कार्यालयले जनाएको छ ।

योजना कार्यालयका सबइन्जिनियर यहोसु लिम्बूका अनुसार सडक कालोपत्र गर्न निर्माण कम्पनीसँग रु ४० करोड ७६ लाखमा ठेक्का सम्झौता भएको छ । दुई वर्षभित्र सुकेटारदेखि पाथीभरा क्षेत्रको काफ्ले पाटीसम्म कालोपत्र निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको पनि सबइन्जिनियर लिम्बूले बताए।