‘अब एमसीसीमा अल्झेर नबसौं, पास गरौं या खारेज गरौं’- टोपबहादुर रायमाझी

काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सधैंभरि एमसीसीमा अल्झेर बस्न नहुने बताएका छन् ।नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’मा कुरा गर्दै पूर्व ऊर्जामन्त्री समेत रहेका रायमाझीले भने, “एमसीसी परियोजना सडक र ऊर्जामा लगानी हुने हो ।

कोसी, गण्डकी, कर्णालीमा थुप्रै हाइड्रोपावर सम्पन्न हुने स्थितिमा छन् । हामीले ट्रान्समिसन लाइन बनाएर भारत, बंगलादेशमा निर्यात नगरी हुन्न । नत्र त्यसको उपयोग गर्न सक्दैनौं । मेरो भनाइ के हो भने एमसीसीमा अल्झेर नबसौं । या त सहमति गरेर पास गरौं या खारेज गरौं ।”

ऊर्जामन्त्री हुँदा एमसीसी पास गर्नुपर्छ भन्ने अनि अहिले विपक्षमा बोल्न मिल्छ भन्ने पत्रकार धमलाको प्रश्नमा नेता रायमाझीले भने, “एमसीसीको पक्ष र विपक्षको कुरा होइन । हामी अहिले सत्ताको पोजिसनमा छैनौं । तावा ताते रोटी पाक्छ, बिँड ताते हात पोल्छ । हामीले त संसद् आएपछि पास वा फेल गर्ने हो ।

तर गठबन्धन दलहरु नै झगडा गरिरहेका छन् । पहिले सरकारले पोजिसन क्लियर गरोस् अनि हामी एउटा निष्कर्ष दिन्छौं ।”
संसद् खोल्ने-नखोल्ने कुरा सरकारको हातमा रहेको पनि उनले बताए । रायमाझीले थपे, “संसद् अवरुद्ध हुनुको अर्थ के हो भने सरकारसँग कुरा मिलेको छैन ।

सभामुखले स्वच्छ र निष्पक्ष भूमिका खेल्नुपर्ने हो । तर उहाँ एउटा अमुक नेताको कार्यकर्ता जस्तो भूमिका खेलिरहनुभएको छ । सरकारले ल्याउन लागेको प्रस्तावका कारण संसद् बन्द गरेर हिँड्नुभयो । अब सत्तारुढ दलले नै महाअभियोगको प्रस्ताव ल्यायो भने हामी त्यसको पक्षमा उभिन्छौं ।”

निर्वाचनको मिति घोषणा गर्न आलटाल भए सरकारले संविधान नमानेको ठहरिने पनि उनले बताए ।