
पाल्पा। पाल्ल्पाका १० स्थानीय तहमध्ये रिब्दिकोट र रम्भा गाउँपालिकाले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेका छन् । बगनासकाली गाउँपालिकाले तयारीसमेत गरेको छैन । रोजगार संयोजक कामना पराजुली व्यक्तिगत कामले कार्यालय नआएपछि काम अगाडि बढ्न नसकेको गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले बताए । ‘हाम्रो गाउँमा बाँदर धेरै छन्, किसानलाई हैरान पारेका छन्, प्रधानमन्त्री रोजगार कार्यक्रममा आएको रकमले बाँदर लखेट्ने काम गराउने योजना छ,’ उनले भने । माथागढी गाउँपालिकाले वडैपिच्छे दुई–दुई लाख बाँडे पनि हालसम्म वडा नं. ८ ले मात्रै काम सुरु गरेको छ । तिनाउ गाउँपालिकाले बाँडेको बजेटअनुसार कार्यक्रम सुरु भए–नभएको जानकारीसमेत लिएको छैन ।
‘रकम दिएको हो, वडाध्यक्षहरूले के गरेका छन् बुझ्नुपर्छ,’ गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती भन्छन्, ‘दालचिनी र अम्रिसो रोप्ने भन्ने निर्णय भएको थियो ।’
प्रधानमन्त्री रोजगार कार्यक्रम : पाँचथरमा १५ दिनमा एक करोड ५९ लाख सक्ने तयारी
पाँचथरका आठ स्थानीय तहमध्ये सातवटामा सञ्चालन हुन लागेको कार्यक्रममा एक करोड ५९ लाख रुपैयाँ खर्च गर्ने तयारी भइरहेको छ । दक्षिणी पाँचथरको मिक्लाजुङ गाउँपालिकाले यो वर्ष कार्यक्रम नगर्ने भएको छ । हतारमा कार्यक्रम गर्दा गुणस्तरीय नहुने भन्दै कार्यक्रम नगर्ने निर्णयमा पुगेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरुण राईले बताए । दीर्घकालीन योजनामा भन्दा साना–साना योजनामा पैसा बाँडेर बिल मिलाउने तवरमा काम भइरहेको छ । करिब १५ दिनमा काम गरिसक्नुपर्ने अवस्था छ । सरकारले बजेट समयमा नपठाउँदा योजना छनोटमा ढिलाइ भएको छ । छानिएकामध्ये ९५ प्रतिशत योजना सडक निर्माणका छन् ।
रोल्पामा तीन करोड बजेट असारमै खर्चिंदै
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोल्पाका दशवटै स्थानीय तहले एकै किसिमको काममा असारमै तीन करोड १४ लाख रुपैयाँँ बजेट खर्चिंदै छन् । पोखरी सुधार, मुहान संरक्षण, बाटो मर्मत, नाला निर्माण, कुलो सफाइजस्ता काममा रकम खर्च हुँदै छ । एक नगरपालिका र नौ गाउँपालिका रहेको रोल्पामा अहिलेसम्म काम सुरु भएको छैन । बजेट ढिलो गरी आएको र कर्मचारी अभावका कारण समस्या रहेको स्थानीय तहका प्रमुखहरू बताउँछन् । ‘बजेट भर्खर आएको छ, कर्मचारी पनि छैनन् । जसोतसो खर्चिने योजना बनाउँदै छौँ,’ त्रिवेणी गाउँपालिका अध्यक्ष शान्तकुमार वलीले भन्छन्, ‘बजेट फ्रिज पनि नहोस्, काम पनि राम्रो होस् भन्ने हिसाबले लागिरहेका छौँ ।’
एक महिनाभन्दा कम रोजगारी दिने तयारी
कैलाली/ प्रधानमन्त्री रोजगारअन्तर्गत स्थानीय तहहरूले अनुत्पादक क्षेत्रका योजना बढी छनोट गरेका छन् । तीन सय ५० जनालाई एक महिना रोजगारी दिने गरी ७४ लाख बजेट आए पनि कार्यान्वयन हुन नसकेको घोडाघोडी नगरपालिकाका रोजगार संयोजक रोहितप्रसाद जोशीले बताए । कैलारी गाउँपालिकाले पनि १५ दिन मात्रै काम दिने गरी तयारी गरेको छ । गोदावरी नगरपालिका–८ स्याउलेस्थित शिवनाथ मन्दिरमा पार्क निर्माणका लागि पाँच लाख तय गरिएको छ । सोही वडामा महिला विश्राम घर निर्माणका लागि तीन लाख छुट्याइएको छ ।