‘शेरबहादुर देउवालाई भोट नहाल्ने कांग्रेस होइनन् र ?’- कांग्रेस नेता पोखरेल

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. गोविन्दराज पोखरेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई भोट हाल्नेलाई मात्र च्याप्न नहुने बताएका छन् ।
नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रममा कुरा गर्दै नेता डा. पोखरेलले भने, “हामीले पार्टीमा कुनै भागबन्डा मागेका छैनौं ।

माग्नु पनि हुँदैन । तर केही व्यक्तिलाई च्याप्दा अर्को पक्षले त्यसको स्वामित्व लिन सक्दैन । कसैलाई नजरअन्दाज गर्दा आम कार्यकर्तामा कस्तो सन्देश जान्छ भन्ने विचार गर्नुपर्छ ।”
आगामी तीनै तहको निर्वाचनमा पार्टीलाई एकताबद्ध बनाएर लैजान पनि समन्वयकारी भूमिका सभापति देउवाले खेल्नुपर्ने उनले औंल्याए ।

उनले थपे, “उपसभापति, महामन्त्री, सहमहामन्त्रीमा चुनाव लडेका नेताहरुमध्ये कसैलाई मनोनीत गर्ने, कसैलाई नगर्ने गर्दा पार्टीमा समस्या हुन सक्छ । त्यसैले एउटा मापदण्ड बनाएर जानुपर्छ । पहिलो चरणमा शेरबहादुर देउवालाई भोट नहालेका १८ सय प्रतिनिधि के कांग्रेस होइनन् त ?

महेश आचार्य, मिनेन्द्र रिजाल, चन्द्र भण्डारीको पार्टीमा योगदान छैन र ?” प्रधानमन्त्री देउवाले अवसर नपाएको र काम गर्न सक्ने सांसदलाई मन्त्री बनाउँदा राम्रो सन्देश जाने र पार्टीको छवि सुधार हुने उनको धारणा छ । साथै उनले जेठ ४ या ५ गते गर्ने स्थानीय तहको निर्वाचन हुने गरी केही दिनमा मितिको घोषणा हुने

पनि बताए । उनले थपे, “तीन चरणका चुनाव भएकाले त्यसलाई मिलाउन केही समय लिइएको होला ।” एमसीसीबारे भ्रम र अतिरञ्जित बहस भइरहेकाले त्यसबारे सर्वदलीय छलफल आवश्यक भएको पनि डा. पोखरेलले बताए । उनले भने, “अरु देशमा वैदेशिक सम्बन्धमा सबै पार्टी एकमत हुन्छन् ।

तर हामीकहाँ दलहरु एकअर्काको इगो लिएर बसेका छन् । अतिरञ्जित बहस गरेर जनतालाई भ्रममा राखेका छन् । ढिलो भए पनि हामी विपक्षीलगायत साना ठूला सबै दलले एउटै स्वर र एउटै आवाज बनाएर अघि बढ्नुपर्छ । त्यसका लागि दस्तावेज पढेका विज्ञसहितको सर्वदलीय बैठक गरेर मात्र संसद्मा लैजानुपर्छ । यो

काम गर्ने कर्तव्य देशको नेता प्रधानमन्त्रीकै हो ।” एमसीसीमा देशलाई घाटा लाग्ने कुनै कुरा नभएको पनि उनले बताए । उनले थपे, “यसबारे संसद्मा पनि बहस होला । तर देशलाई घाटा लाग्ने कुनै पनि प्रावधान छैन । हामीले निर्वाचनमा जानुअघि अनेक खाले भ्रम र अतिरञ्जित कुरा तोडेर जानुपर्छ ।

दस्तावेज अध्ययन गरेर स्वस्थ बहस गरौं ।”