हिउँ परेपछि आन्तरिक पर्यटकले नगरकोट भरिभराउ

भक्तपुरकै चर्चित पर्यटकीय गन्तव्य नगरकोट सुनसानजस्तै भएको वर्षाै भएको थियो। तर शुक्रबार र शनिबार सो ठाउँ एकाएक भरिभराउ भयो। कारण थियो, हिउँ पर्नु। हिउँ परेको खबरसँगै शुक्रबार साँझदेखि जान थालेको आन्तरिक पर्यटकको भिड शनिबार झनै थेगिनसक्नु भयो।

नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङको अनुमानमा दुई दिनमा त्यहाँ २० हजारको हाराहारीमा आन्तरिक पर्यटक आएका छन्। ‘शुक्रबार साँझ हिउँ पर्न थालेसँगै त्यस दिन मात्र दुई हजारको हाराहारीमा पर्यटक आए,’ उनले भने, ‘शनिबार त बिहानैदेखि हुलका हुल पर्यटक आए। दुई दिनमा झन्डै १५ देखि २० हजार पर्यटक आइपुगेको अनुमान हामीले गरेका

हिउँ पर्न रोकिए पनि बाँकी हिउँ खेल्न त्यहाँ हजारौं आन्तरिक पर्यटक पुगेका थिए। शुक्रबार त्यहाँ १ बजेदेखि साढे ३ बजेसम्म निरन्तर हिउँ परेको थियो। त्यसबाट त्यहाँ एक फिटसम्म हिउँ जमेको थियो। अत्यधिक हिउँ परेर सडक नै अवरुद्ध भएपछि डोजर लगाएर शुक्रबार हिउँ पन्छाइएको थियो। हिउँ परेसँगै शुक्रबार दिउँसो नै नगरकोट पुगेका भक्तपुरका इन्जिनियर कृष्णभक्त दुवालले साथीहरूसँगै त्यहीँ नै रात बिताए।

हिउँसँग खेल्न विशेष रुचि राख्ने उनले ११ वर्षपछि नगरकोटमा बाक्लो हिउँ परेको जानकारी दिए। नगरकोट नाल्दुम पर्यटक विकास समितिको तथ्यांकअनुसार नगरकोटमा सानाठुला गरी सात दर्जनको हाराहारीमा होटल छन्। तिनीहरूमा आठ सयदेखि आठ सय ५० कोठा छन्। तर पनि अहिले विदेशी पर्यटक शून्यप्रायः छ। दैनिक अहिले विदेशी पर्यटकहरू ५/६ दर्जनजति मात्रै त्यहाँ पुग्ने तथ्यांक छ।

२०७२ सालको भूकम्पपछि घटेको पर्यटक कोभिडले झनै शून्यप्रायमा झारेको समितिको भनाइ छ। यकिन तथ्यांक नभए पनि त्यहाँ सिजनमा दैनिक हजारदेखि १२ सयसम्म र अफ सिजनमा ५ देखि ६ सय पर्यटक पुग्ने गरेका थिए। नगरकोट आउने पर्यटकहरूसँग चाँगुनारायण र काभ्रेको मदनदेउपुर नगरपालिकाले संयुक्त रूपमा प्रवेश शुल्क पनि उठाउँदै आएको छ।

भक्तपुर र काभ्रेको सिमाना रहेको नगरकोटमा आउने गैरसार्क राष्ट्रका पर्यटकसँग प्रतिपर्यटक ३ सय ३९ र सार्क राष्ट्रका पर्यटकहरूसँग २ सय २६ रुपैयाँ प्रवेश शुल्क उठाउने गरिएको छ।
भक्तपुरबाट नगरकोट पुग्ने मुख्य सडक जीर्ण छ। यही कारण पनि त्यहाँ जाने पर्यटक ‘डाइभर्स’ भइरहेको स्थानीयको भनाइ छ। नगरकोट पुग्न मुख्य सडकका साथै काठमाडौं र भक्तपुरकै अर्को बाटो प्रयोग गर्न सकिन्छ।

तर ती सडक पनि जीर्ण भएका कारण पर्यटक बोक्ने ठूला तथा साना गाडी जान मान्दैनन्। भक्तपुरको भत्केको पाटीबाट सुडाल–जितपुर–थाकलमठ–कलमसी हुँदै नगरकोट टावर भएर नगरकोट पुग्ने वैकल्पिक सडक पनि उस्तै जीर्ण छ। नगरकोटबाट देखिने विभिन्न हिमालको मनोरम दृश्यसँगै सूर्योदय तथा सूर्यास्त प्रमुख आकर्षक रहेको त्यहाँका व्यवसायहिरू बताउँछन्। तर सडकको दुरवास्थाका कारण पर्यटकले त्यहाँ जान रुचि राख्न छाडेको

पछिल्लो तथ्यांकले प्रस्ट्याउँछ।