माइतीघरमा ठडिएको राष्ट्रिय झन्डा च्यातियो

काठमाडौं: काठमाडौंको केन्द्रबिन्दुमा रहेको छ माइतीघर मन्डला। माइतीघरलाई सामाजिक, राजनीतिक वा जुनसुकै बेथितिविरुद्ध प्रदर्शन गर्ने स्थलको रुपमा पनि चिनिन्छ। यहाँ प्रयजसो कुनै न कुनै प्रदर्शन भइरहेकै हुन्छ। र, ती प्रदर्शनहरुविरुद्ध प्रहरीहरुको बाक्लै उपस्थिति रहने गर्छ माइतीघरमा।

त्यही माइतीघरमा केही वर्षअघि देखि राष्ट्रिय झन्डा फहराइएको छ। तर झन्डाको अवस्था हेर्दा उदेक लाग्छ। किनकि राष्ट्रिय झन्डा धुजा बनेको छ, च्यातिएको अवस्थामा छ। देशकै प्रमुख प्रशानिक क्षेत्र सिंहदरवार जाने मूल बाटोमै रहेको राष्ट्रिय झन्डा च्यातिँदासमेत देशका मन्त्री र कर्मचारीहरुको ध्यान तान्न सकेको छैन।

वा, उनीहरु हेरेर पनि नजरअन्दाज गरिरहेका छन्। काठमाडौं जिल्ला प्रशासन पनि त्यहाँबाट केही मिटर दूरीमा रहेको छ। काठमाडौं सिडिओ पनि दिनहुँ माइतीघरको बाटो हिँड्दा हुन्, तर देशकै प्रतिष्ठाको विषय रहेको राष्ट्रिय झन्डामा कसैले चासो देखाउँदैनन्। हामीले राष्ट्रिय झन्डाबारे गृह मन्त्रालयका प्रवक्ता फणिन्द्र मणि पोखरेललाई प्रश्न सोध्यौं, राष्ट्रिय झन्डा च्यातिएर

धुजा बन्दासमेत किन नफेरिएको? उनले त्यसबारे थाहा नभएको र के भएको रहेछ, सोधीखोजी गर्ने बताए। यता काठमाडौंका सिडिओ गोविन्द रिजाललाई पनि हामीले यही प्रश्न सोध्यौं। उनले तुरुन्तै झन्डा फेर्ने बताए। ‘त्यसबारे जानकारी थिएन। तुरुन्तै बनाएर फेर्न लगाउँछौं,’ उनले भने। देशकै दुई सरोकारवाला निकायले राष्ट्रिय झन्डा तुरुन्तै फेर्ने वाचा त गरे।

तर कहिलेसम्म झन्डा फेरिने हो थाहा छैन। विसं २०७३ साल माघ १६ गते सहिद दिवसको अवसरमा नेपाल देशभक्त युवा समाज नामक संस्थाको अगुवाइमा माइतीघर मन्डलामा राष्ट्रिय झन्डा फहराइएको थियो। त्यतिबेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले संयुक्तरुपमा झन्डोत्तोलन गरेका थिए।

पछि उक्त झन्डालाई अग्लो टावर बनाएर फहराइएको थियो।