ओमिक्रोनको सब भेरियन्ट डेल्टा जत्तिकै खतरनाक

काठमाडौं । ल्याबमा गरिएको नयाँ परीक्षणले कोभिड-१९ को ओमिक्रोन भेरियन्टको ‘बीए.२’ नामक सब भेरियन्टसँग संक्रमितलाई गम्भीर अवस्थामा पुर्‍याउन सक्ने क्षमता रहेको देखाएको छ ।

जापानमा गरिएको ल्याब परीक्षणबाट बीए.२ सब भेरियन्टसँग संक्रमितलाई गम्भीर अवस्थामा पुर्‍याउन सक्ने विशेषता रहेको देखिएको हो । यो सब भेरियन्ट डेल्टा जत्तिकै खतरनाक रहेको पनि ल्याब परीक्षणको निष्कर्ष छ ।

त्यस्तै, बीए.२ ले ओमिक्रोनले झैं उपलब्ध कोभिड खोपबाट विकास हुने इम्युनिटीलाई समेत छल्न सक्ने देखिएको छ । साथै, ल्याब परीक्षणको नतिजाअनुसार यसले हाल ओमिक्रोनविरुद्ध प्रयोग भइरहेको सोट्रोभिमाब नामक मोनोक्लोनल एन्टिबडी उपचार

विधिलाई समेत निष्प्रभावी पार्न सक्छ । ल्याब परीक्षणको निष्कर्षलाई ‘प्रिप्रिन्ट स्टडी’ को रुपमा ‘बायोआरसीभ’ सर्भरमा बुधबार पोष्ट गरिएको थियो । तर उक्त अध्ययनको पिआर रिभ्यू हुन भने बाँकी छ ।

‘मानवीय दृष्टिकोणबाट हेर्दा बीए.१ भन्दा यो भाइरस खराब हुन सक्ने र अझ तीव्र रुपमा फैलिँदै गम्भीर अवस्था निम्त्याउन सक्ने देखिन्छु, ओहायोस्थित भल्याड क्लिनिकमा माइक्रोबायोलोजी शाखा प्रमुख डा. डेनियल रोड्सले भने ।

ल्याब परीक्षणमा संलग्न नभएका रोड्सले यसको समीक्षा गरेका थिए । त्यस्तै, ल्याब परीक्षणमा संलग्न टोकियो विश्वविद्यालयका अनुसन्धानकर्ता केइ साटोले पछिल्लो निष्कर्षले बीए.२ लाई ओमिक्रोनको एक प्रकारको रुपमा लिन नहुने र यसलाई

नजिकबाट निगरानी गर्नुपर्ने तर्क गर्छन् । ‘बीए.२’ लाई चोर ओमिक्रोन भनेर नामाकरण गरेको कुरा तपाईंलाई थाहै होला,’ सीएनएनसँग कुरा गर्दै साटोले भने । ओमिक्रोनझैं पीसीआर परीक्षणमा नदेखिने भएकाले यसलाई चोर भेरियन्ट भनिएको उनको

भनाइ थियो । ‘यही भएर ल्याबमा थप परीक्षणमार्फत् भाइरसको सिक्वेन्सिङ गरी यो भेरियन्टको पहिचान गर्नु पर्छ ।’ सबैभन्दा पहिला बीए.२ पहिचान गर्ने विधि विकास गर्नुपर्ने पनि साटोको भनाइ थियो ।

सुरुमा चीनको वुहानमा देखिएको कोरोना भाइरसको तुलनामा बीए.२ को उत्परिवर्तन क्षमता निकै उच्च रहेको छ । दर्जनौं मात्रामा ओमिक्रोनको भन्दा फरक जीन रहेका कारण समेत यो अन्य भेरियन्टभन्दा भिन्न रहेको छ ।

ओरिजिनल ओमिक्रोनभन्दा झण्डै ५० प्रतिशत बढीले संक्रामक देखिएको बीए.२ हालसम्म ७४ मुलुकमा फेला परिसकेको छ ।