‘युद्ध अन्त्यका लागि पुटिनबाहेक अरुसँग वार्ता गर्दिनँ’- जेलेन्स्की

किभ : युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग मात्र युद्ध अन्त्यको वार्ता गर्न तयार रहेको बताएका छन् । जेलेन्स्कीले डाभोसमा भएको विश्व आर्थिक मञ्चलाई सम्बोधन गर्दै थिए।

उनले रुसको कारबाहीले गर्दा ऊसँग कुनै पनि प्रकारको वार्ता गर्न गाह्रो भइरहेको बताएका छन् । रुसले भने अहिलेसम्म युक्रेनी नागरिकलाई जानाजानी निशाना बनाएको आरोपलाई अस्वीकार गर्दै आएको छ ।

रुसले आफ्नो आक्रमणलाई युक्रेनमा ‘विशेष अभियान’ भनेको छ। जेलेन्स्कीले भने, ‘रुसका राष्ट्रपतिले नै हरेक निर्णय गर्छन्। यदि हामी उहाँ बिना यो युद्ध समाप्त गर्ने कुरा गरिरहेका छौं भने यसको निर्णय लिन सकिँदैन।’

उनले भने, ‘राष्ट्रपति बाहेक म रुसी महासंघका कुनै पदाधिकारीसँग वार्ता गर्दिनँ, त्यो पनि वार्ताको विषय युद्ध कसरी रोक्ने भन्ने कुरामा केन्द्रित हुनुपर्छ। यसको अतिरिक्त अरु कुनै विषयमा वार्ता गर्नुको कुनै अर्थ छैन ।’

गत हप्ता, जेलेन्स्कीले युक्रेनी टेलिभिजन च्यानलमा कूटनीति बिना युद्ध रोक्न असम्भव रहेको बताएका छन्।