
काठमाडौ। इटहरीका मेयर द्वारिकलाल चौधरीले पत्रकारलाई धम्की दिएको सम्बन्धमा नेपाल पत्रकार महासंघ प्रदेश १ कमिटीले गठन गरेको समितिले मंगलबार प्रतिवेदन सार्वजनिक गरेको छ।
पत्रकार विराट अनुपम (गौतम)ले फेसबुक स्टाटसमा मेयर चौधरीले गरेका प्रतिक्रियालाई लिएर फोन गरी उत्तेजित बनाउँदा सो घट्ना भएको प्रतिवेदनमा उल्लेख छ । मोहनकाजी न्यौपानेको संयोजकत्वमा गठित समितिले ७ बुँदामा निश्कर्ष र ६ बुँदामा सुझाव समेटिएको प्रतिवेदन तयार पारेको हो।
पत्रकार गौतमले फेसबुक स्टाटसमार्फत पोस्ट गर्ने निजी अभिव्यक्तिले विभिन्न व्यक्तिको मानमर्दन हुने गरेको महासंघको प्रतिवेदनमा उल्लेख छ । मेयर द्वारिकलाल चौधरीले धम्कि दिनुलाई समितिले गलत भनेको छ।
मिसन टोलीको निश्कर्षको तेस्रो नम्बर बुँदामा भनिएको छ ‘पत्रकार विराट अनुपमले फेसबुकमा लेखेको स्टाटसमा प्रमुख द्वारिकलाल चौधरीले कमेन्ट गरेको विषयलाई फोन गरेर उत्तेजित बनाएको पाइयो । साथै पत्रकार विराट अनुपमले पटक–पटक सामाजिक सञ्जाल फेसबुकमा दिने निजी अभिव्यक्ति तथा धारणाले थुप्रै पत्रकार र सामाजिक व्यक्तिको मानमर्दन र प्रतिष्ठामा आघात पुगेको गुनासा थुप्रै पाइयो।’
टोलीको सुझावमा भनिएको छ, ‘पत्रकारले रिपोर्टिङ गर्दा र अन्तरवार्ता लिने क्रममा व्यक्तिलाई होच्याउने गरी अशिष्ट, अमर्यादित र पूर्वाग्रही प्रश्न गर्नुहुँदैन । पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग पृथक विषय भएको हुँदा पत्रकारले सामाजिक सञ्जालमा विचार र टिप्पणी व्यक्त गर्दा सचेत हुनुपर्दछ।’
समितिले चौधरीसँग पनि छलफल गरेको थियाे । छलफलका क्रममा चौधरीले पत्रकार र प्रेस जगतप्रति गलत अभिव्यक्ति दिएको स्वीकार गर्दै त्यसमा आफू सच्चिन तयार रहेका बताएका थिए।