यी हुन् अर्थशास्त्रमा ‘टप’ गर्ने डोल्पाका गोठालो

काठमाडौं। त्रिभुवन विश्वविद्यालयको ४५ औं दीक्षान्त समारोहबाट बिहीबार १० हजार १ सय ८३ जना विद्यार्थी दीक्षित भए। तीमध्ये आ-आफ्नो संकायमा धेरै अंक ल्याउने विद्यार्थी ‘गोल्ड मेडलिस्ट’ भए। यीमध्ये पनि दुई जना यस्ता थिए, जसले तीन-तीनवटा स्वर्ण पाए।

चान्सलर पदकसहित त्रिवि प्राध्यापक संघ स्वर्ण र रामप्रसाद मानन्धर स्वर्ण गरी तीन पुरस्कार पाउनेमा विराटनगरका उमेश आचार्य एक हुन्। नेपाल टेलिकमका वरिष्ठ इञ्जिनियर उमेशले पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट स्नातकोत्तर तह ‘टप’ गरेका हुन्। दीक्षान्त समारोहकै ठूलो पुरस्कार चान्सलर पदक त्रिविमै सबभन्दा धेरै अंक ल्याउनेलाई दिइन्छ।

तीन स्वर्ण पाउने अर्का विद्यार्थी हुन्, विद्यमान महतारा। उनी अर्थशास्त्र संकायमा उत्कृष्ट भएका हुन्। उनले खगेन्द्रमानसिंह प्रधान पदक, तारापद चौधरी पदक र चन्द्रराज ढुङ्गेल स्मृति पुरस्कार पाएका छन्। उनि कुनै बेला डोल्पा पाखाका भेडा गोठाला थिए। चार महिना हिउँ पर्ने डोल्पाको रिनी गाउँमा जन्मेका विद्यमान घरमा होइन, भेडीगोठमा हुर्के। भेडासँगै बढे।

विद्यमान नेपाल राष्ट्र बैंकका जागिरे हुन्। कीर्तिपुरमा स्नातकोत्तर पढ्दै लोकसेवामार्फत् बैंकमा नाम निकालेका थिए। विद्यमान राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा काम गर्छन्। (सेतोपाटी)