
वैदेशिक रोजगारबाट फर्केका १८ हजार ८ सय ७७ युवाहरुले सहुलियत व्याजको ऋण पाउने भएका छन्।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका अनुसार आवेदन परेका २४ हजारमध्ये सो संख्याको आवेदन ऋणका लागि योग्य मानिएको हो। राष्ट्रिय वाणिज्य बैंकका सबै शाखाबाट ति युवाहरुलाई ऋण दिनेगरी स्वीकृत गरिएको बोर्डकी अधिकारी उर्मिला कार्कीले जानकारी दिइन्।
४ हजार ८२४ जनाको आवेदन बैंकबाट स्वीकृत भइसकेको उनले दावी गरिन्।
राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंक र बोर्डबीच संस्थागत रुपमा कुनै सम्झौता नभएको र प्रक्रिया पुर्याउनेलाई बैंकले व्यक्तिगत तवरले नै ऋण प्रदान गर्दै गएको जानकारी दिए। ‘प्रक्रिया पुर्याएर आएका युवाहरुलाई त हामीले ऋण दिइरहेका छौँ’ उनले भने।
हालसम्मको तथ्याङ्क हेर्दा भने वैदेशिक रोजगारबाट फर्केकाहरुले लिएको ऋण रकम र संख्या निकै न्यून देखिन्छ। राष्ट्र बैंकको तथ्याङ्क अनुसार ११ जना युवाले ७८ लाख रुपैयाँ ऋण लगेका छन्।
सरकारले वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई स्वदेशमै व्यवसाय गर्नका लागि १० लाख रुपैयाँसम्म सहुलियत व्याजमा ऋण दिने कार्यक्रम ल्याएको हो। सो अनुसार धेरैजसो बैंकहरुअनिच्छुक रहँदै आएका छन्। राष्ट्रिय वाणिज्यसहित केही बैंकले मात्रै यस्तो ऋण दिँदै आएका छन्।
वैदेशिक रोजगारबाट फर्केको तीन वर्ष ननाघेका युवाहरुले बैंकको ढाँचामा आवेदन भरेर नजिकैको शाखामा प्रस्ताव गर्न सक्छन्।
बाख्रापालन, कुखुरापालन, मत्स्यपालन, मौरीपालन गर्न यस्तो ऋण पाइन्छ। त्यस्तै कृषि उत्पादनका अन्य कामहरु गर्न, चिया तथा खाजा पसल लगायतका व्यवसाय संचालन गर्न पनि यस्तो ऋण पाइन्छ।
राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिँदा सहुलियतपछिको व्याज जम्मा साढे २ प्रतिशतको हाराहारीमा मात्रै पर्दछ। बैंकको आधार व्याजमा दुई जोडेर आउने दरमा ५ प्रतिशत व्याज सरकारले सहुलियत दिन्छ।