
काठमाडौ। सरकारले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क बनाएको छ।तर, जाजरकोटको बारेकोट गाउँपालिका–४ मैनास्थित जगत आधारभूत विद्यालयका विद्यार्थी पढाइखर्च जुटाउन विद्यालयकै गिटी कुट्न बाध्य छन्।निम्न आर्थिक अवस्था भएका बालबालिका बिहान विद्यालय सुरु हुनुअघि र विद्यालय छुटेपछि गिटी कुट्छन्। जाजरकोटबाट हेमन्त केसीले पठाएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
विद्यालयमा तीनकोठे अर्को भवन बन्दै छ । २५ किलो चामल अट्ने एक बोरा गिटी कुटेबापत उनीहरूले १२० रुपैयाँ पाउँछन्।‘बिहान र बेलुका कुट्दा चार बोराजति गिटी बन्छ,’ कक्षा ६ मा अध्ययनरत पुष्पा बस्नेतले भनिन्, ‘यो पैसा आफू र भाइबहिनीका लागि कापी, कलमलगायत शैक्षिक सामग्री किन्न खर्च गर्छु।’