अर्थमन्त्रीको पद खुस्केपछि डा. खतिवडालाई अमेरिकाको राजदूत ‘उपहार’

काठमाडौं । यतिबेला अर्थमन्त्री डा.युवराज खतिवडा विशेष चर्चामा छन् । उनी चर्चामा आउनुको कारण हो राष्ट्रिय सभाको सांसद कार्यकाल सकिनु । राष्ट्रिय सभा सदस्यमा दुई वर्षे कार्यकाल पूरा गरेकालाई नदोहो¥याउने सत्तारुढ नेकपाले मापदण्ड बनाएपछि खतिवडाको अर्थमन्त्री पद धरापमा पर्दैछ भन्ने चर्चा सुरु भएको हो ।

खतिवडा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत राष्ट्रिय सभा सदस्य हुन् । उनको दुई वर्षे कार्यकाल आगामी फागुन २० गते सकिँदैछ । सोही कारण सांसद नभए पनि संविधानतः आगामी भदौसम्म उनी अर्थमन्त्रीको कुर्सीमा बस्न भने पाउनेछन् । तर, त्यसअघि नै प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएकाले खतिवडाको अर्थमन्त्री पूर्वमाओवादीको भागमा पर्ने भएको स्रोतले बतायो । त्यसकै लागि नारायणकाजी श्रेष्ठलाई राष्ट्रिय सभामा लगिएको बताइन्छ ।

खतिवडाले प्रधानमन्त्री ओलीसँग आफूलाई अमेरिकाको राजदूत बनाइदिन आग्रह गरेकाले कार्यकाल नथपी अमेरिकामा रहँदै आएका राजदूत डा.अर्जुन कार्कीलाई बोलाएर खतिवडालाई पठाउने प्रधानमन्त्री ओलीले तयारी थालेको उच्च स्रोतले बतायो । खतिवडा तत्कालीन एमालेबाट सबैभन्दा धेरै नियुक्ति खाने पूर्वप्रशासक हुन् । उनले राष्ट्रिय योजनाको उपाध्यक्ष, राष्ट्र बैंकको गभर्नर तथा अर्थमन्त्री पाइसकेका छन् ।

नेकपामा अहिले सबैभन्दा धनी मन्त्रीको रूपमा खतिवडालाई चिन्ने गरिन्छ । उनको बैंक खातामा लाखौं अमेरिकी डलर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । अब अमेरिकी राजदूत पनि उपहार पाउने भएपछि खतिवडालाई अर्थमन्त्री पद गुमेमा पनि केही फरक नपर्ने बताइएको छ । उनले दुई वर्षे अर्थमन्त्रीको कार्यकाल सफलभन्दा पनि धेरै विवादमा परेको छ । उनी मूलतः मौद्रिक अर्थशास्त्री हुन् । खतिवडाले आगामी आर्थिक वर्षको बजेट आफैंले ल्याउने गरी वातावरण बनाइदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेको बुझिएको छ ।