हङकङमा चर्कियो आन्दोलन: आन्दोलनकारीका पक्षमा अमेरिका !

एजेन्सी। चीन प्रशासित हङकङमा आन्दोलन चर्कँदै गएको छ। लोकतन्त्रका पक्षधरले हङकङमा विशाल प्रदर्शन गरेका छन्। हङकङका नागरिकहरू न्याय सेवाका लागी चीन जानुपर्ने प्रावधान सहितको नयाँ कानुन आए लगत्तै आन्दोलन चर्किएको थियो ।

हङकङकी मुख्य कार्यकारी कैरी लमले उक्त विधेक ल्याएकी थिइन । विधेक यस महिनाको अन्त्य सम्ममा अनुमोदन गराउने गरी संसद्मा पेस गरिएको थियो ।हङकङमा ७० सदस्य रहने अर्ध लोकतान्त्रिक विधान सभा छ । ब्रिटिसहरूको कब्जामा रहेको हङकङको सार्वभौमसत्ता सन् १९९७ मा बेलायतले चीनलाई सुम्पेको थियो ।

आयोजकहरूका अनुसार एक लाखभन्दा धेरै व्यक्तिहरू नयाँ कानुनको विरोध गर्न आइतबार सडकमा उत्रिएका थिए । हङकङमा चीन विरोधी गतिविधि रोक्न नयाँ कानुन ल्याएको आरोप लगाउँदै स्वतन्त्रताका लागी विरोध प्रदर्शन भएको हो ।

आन्दोलनकारीले चीनले मानव अधिकार र प्रेस स्वतन्त्रता जस्ता कुरामा अङ्कुश लगाउन खोजेको आरोप लगाएका छन्। चीनले राजनैतिक कारण देखाएर प्रजातान्त्रिक अधिकार माथि प्रहार गरेको हङकङ बासीको बुझाइ रहेको छ ।

नयाँ कानुनले हङकङ सहरको अर्धस्वायत्त कानुनी व्यवस्थालाई कमजोर बनाउन सक्छ । कानुन पास भए हङकङ चीनको एउटा सहरमा मात्र सीमित हुने आन्दोलनकारीले बताएका छन् । प्रदर्शनमा हङकङका व्यापारिक सङ्गठन, मध्य९वर्गीय व्यक्ति र युवाहरू देशैभरिबाट भेला भइरहेका छन् ।

हङकङकी मुख्य कार्यकारी कैरी लमले सोमवार पत्रकार सम्मेलन गरेर नागरिकहरू माग राखेर सडक आन्दोलनमा उत्रनु उनीहरूको अधिकार रहेको बताएकी छन् । हङकङ सरकारले मानवीय क्षति रोक्न अतिरिक्त सुरक्षा व्यवस्था गर्न लागेको छ ।

आन्दोलनकारीले नयाँ विधेक फिर्ता नभए सम्म आन्दोलन गारी राख्ने बताएका छन् । दैनिक हजारौँ मानिसहरू सडकमा उत्रिरहेका दृश्यहरू बाहिर आएका छन् । सडक पेटीका इट्टा उम्काउने देखि सरकारी कार्यालयहरू घेराउ गर्ने सम्मका विरोधहरू भइरहेका छन् । प्रहरीले आन्दोलन तितरबितर पार्न पानीको फोहोरा हानिरहेको छ ।

नयाँ विधेकको विरोध सँगसँगै हङकङलाई चीनबाट स्वतन्त्र बनाउनुपर्ने आवाज पनि बढिरहेको छ । व्यापारीहरूले आन्दोलनकारीका लागी खाना, नास्ता र विभिन्न आधारभूत सामग्रीहरूको पनि व्यवस्थापन गर्न थालेका छन् । आन्दोलन चर्किँदै जाँदा हङकङ सरकार मात्र होइन चीन सरकारमाथि पनि ठूलो दबाद बढ्दै गएको छ ।

आन्दोलनका कारण हङकङ सरकारले विवादास्पद बीलकोलागी बुधवार बोलाइएको विधान परिषद्को बैठक स्थगित गरेको छ । प्रदर्शनका क्रममा ७२ जना घाइते भएका छन् । २ जनाको अवस्था गम्भीर छ ।

हङकङमा भइरहेको प्रदर्शन बारे संसारभरका नेताहरूले चासो व्यक्त गरेका छन् । ताइवानकी प्रधानमन्त्रीले ट्वीट गर्दै हङकङ बासीको पक्षमा रहेको बताएकी छन् । बेलायती विदेश मन्त्रीले समेत आन्दोलनकारीको मागमा गम्भीर हुन आग्रह गरेका छन् ।

अन्तर्राष्ट्रिय समुदायले हङकङबासीको लोकतान्त्रिक आधिकारलाई कुण्ठित नगर्न चेतावनी दिएको छ । नयाँ कानुन पारित भए खुलेरै अमेरिका स्वतन्त्र हङकङको पक्षमा उभिने अमेरिकी नेताहरुले चेतावनी दिएका छन् । चीन विरोधी विभिन्न देश हङकङको स्वतन्त्रता चाहिरेका छन् ।