विश्व बैंकले भन्यो: आगामी ३ वर्षसम्म नेपालले भारतलाई आर्थिक वृद्धिदरमा उछिन्नेछ

काठमाडौं। विश्व बैंकले आगामी ३ वर्षसम्म आर्थिक वृद्धिमा नेपालले भारतलाई उछिन्ने प्रक्षेपण सार्वजनिक गरेको छ। सन् २०२०, २०२१ र २०२२ मा नेपालको आर्थिक वृद्धिदर भारतको भन्दा उच्च हुने उसको प्रक्षेपणमा उल्लेख छ। नेपालको आर्थिक वृद्धिदरका विषयमा यसअघि आफूले गरेको प्रक्षेपणलाई स्थिर राख्दै उसले सन् २०२०, २०२१ र २०२२ मा नेपालको आर्थिक वृद्धिदर क्रमश: ६.४, ६.५ र ६.६ प्रतिशत हुने प्रक्षेपण गरेको छ। यो तीन वर्षमा भारतको आर्थिक वृद्धिदर भने क्रमश: ५.०, ५.८ र ६.१ प्रतिशत रहने उसको प्रक्षेपण छ।

नेपालको आर्थिक वृद्धिका सन्दर्भमा सन् २०१९ को जनवरी अर्थात् १ वर्षअघि गरेको प्रक्षेपणलाई नै उसले यसपटक निरन्तरता दिएको छ। तीनवटै आर्थिक वर्षमा हासिल हुने वृद्धिदरमा कुनै परिवर्तन नभएको विश्व बैंकले सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्टस २०२०’मा उल्लेख छ। विश्व बैंकले अघिल्लो वर्षजस्तै यसपटक पनि नेपाललाई उदयीमान अर्थतन्त्रको सूचीमा राखेको छ। स्थिर रेमिट्यान्स आप्रवाह, उल्लेख्य पर्यटन आप्रवाह र अनुकूल मौसमका कारण गत वर्षको आर्थिक वृद्धिदर ७.१ प्रतिशत हासिल भएको उसले दोहोर्‍याएको छ।

यसैगरी माग बलियो हुँदा उत्पादन वृद्धिमा सहयोग गरेको पनि उसले जनाएको छ। विश्व बैंकले आगामी वर्षमा पनि सेवा क्षेत्र र निर्माणको योगदान बलियो हुने तथा पर्यटन आवागमन र सार्वजनिक खर्चको वृद्धिले नेपालको आर्थिक वृद्धिदर २०२२ मा पनि राम्रो रहने उसको प्रक्षेपण छ। आर्थिक वृद्धिदरको आधारमा नेपाल दक्षिण एसियामा तेस्रो स्थानमा रहने विश्व बैंकको प्रक्षेपण छ। उसले बंगलादेश र भुटानपछि यो क्षेत्रमा नेपालले बलियो आर्थिक वृद्धिदर हासिल गर्ने आफ्नो प्रक्षेपणमा उल्लेख गरेको छ। विश्व बैंकले सार्कमा नेपाल र अफ्गानिस्तानको उत्पादकत्व न्यून रहेको पनि जनाएको छ।

विश्व बैंकले यो वर्ष अर्थात् सन् २०२० का लागि विश्वको आर्थिक वृद्धिदर २.५ प्रतिशत हुने अनुमान गरेको छ। गत वर्षको सुरुवाती वृद्धिदर अनुमान २.४ प्रतिशत भन्दा केही सुधार गर्दै यो वर्ष सकारात्मक हुने उसको प्रक्षेपण छ। अमेरिका र चीनबीचको व्यापार युद्धको तनाव शान्त हुने हो भने आर्थिक वृद्धिदर अझै सुधार हुन सक्ने उसको प्रक्षेपण छ। उदयीमान र विकासशील मुलुकहरुमा उत्पादकत्व र आर्थिक क्रियाकलाप दुवैमा कमी आएको भन्दै यसको असर देखिन सक्ने उसको चेतावनी छ।