२० वर्ष सजाय तोकिएका व्यक्ति ३० वर्षपछि पक्राउ

काठमाडौं। बारा प्रहरीले कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय तोकिएका अभियुक्त ३० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा महागढीमाई नगरपालिका-११ मधुरी टोल बस्ने बिरबहादुर चौधरी रहेका छन् । चौधरीसहितको टोलीले महागढीमाई नगरपालिका-५ बस्ने सुकदेव साह सोनारलाई घरबाट बोलाई घाटी रेटेर हत्या गरेर लाश डेरा नदीमा फालेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक (एसपी) सानुराम भट्टराईका अनुसार चौधरीलाई कर्तव्य ज्यान मुद्दामा तत्कालीन मध्यमान्चल क्षेत्रीय अदालत हेटौंडाले ०४३ फागुन १९ गते र सर्वोच्च अदालतले ०४५ असोज १७ गते चौधरीलाई २० वर्षको कैद सजाय सुनाएको थियो ।

३० वर्षसम्म प्रहरीको आखा छलेर बसेका चौधरीलाई पक्राउ गरी कैद भुक्तानका लागि अदालतमा उपस्थित गराएर बिरगंज कारागार पठाइएको एसपी भट्टराईले बताए । सोही मुद्दामा जन्मकैद सुनाइएका प्रतिवादी पलट साह सोनार ०७५ भदौं ५ गते पक्राउ परेका थिए ।

बारा प्रहरीका एसपी भट्टराईले विभिन्न घटनाका फरार प्रतिवादीलाई खोज्ने कार्यमा प्रहरी सक्रिय रहेको बताए । उनले भने,‘‘अपराध गरेर फरार रहेकाहरु ढिलोचाडो कानुनको दायरमा आउँछन् भन्ने कुराको उदहारण यो घटनाले पुष्टि गरेको छ । हामी समाजलाई अपराधीमुक्त बनाउन चाहन्छौं ।’’