धुर्मुसले डेढ महिनामै तयार पारे अन्तर्राष्ट्रिय क्रिकेट मैदान

चितवन । नीलो कर्कटपाताको कम्पाउन्ड । कम्पाउन्डको बीच भागमा स्वागतद्वार । स्वागतद्वारको दायाँबायाँ संस्थाको यसअघिका कामका चिनारी झुण्ड्याइएका छन् ।स्वागतद्वारबाट भित्र पस्नेबित्तिकै उत्तरपट्टि मिनि मञ्चमा आँखा पर्छ । मञ्चको आडैमा छ, ५० यार्डको मिनि क्रिकेट मैदान ।

क्रिकेट मैदानलाई दुईवटा रकेटका प्रतिमूर्तिले पहरा दिइरहेको प्रतीत हुन्छ ।यो त भयो बाहिरी दृश्य । नमुना मैदानको भित्रपट्टि पनि नीलै जस्तापाताले बारिएको छ । जहाँ तीन सयजनाभन्दा बढी सेता–पहेँला सुरक्षाटोपी लगाएका कामदार खटिएका छन् ।कोही साभेल चलाइरहेका । कोही कराहीमा मसला ओसारिरहेका । कोही थुन्सेमा बालुवा बोकिरहेका छन् । कसैका हातमा ज्यावल छन् । कसैका काँधमा सिमेन्टका जोरबोरा देखिन्छन् ।

धुर्मुसले डेढ महिनामै तयार पारे अन्तर्राष्ट्रिय क्रिकेट मैदान

कसैका हात खाली छैनन् । पुसे ठण्डी र झरिलो मौसमले पनि उनीहरूको लय बिथोल्न सकेको छैन । मानौं, उनीहरूको जोस–जाँगर देखेर प्रकृति पनि हार मान्न विवश छ ।
यो दृश्य हो, भरतपुर महानगरपालिका–१५ मा धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको ।

झण्डै एक वर्षअघि कृषि तथा वन विश्वविद्यालयको भोगचलनमा रहेको २० बिघा ८ कट्ठामा फैलिएको यो स्थल काँसघारी थियो । आवादी नभएको, बसाइँ–सराइपछि उजाडिएको लावारिस गाउँजस्तो । दिनदहाडै स्यालका हुइयाँ सुनिँदा स्थानीय आवतजावत गर्न डराउँथे ।