सरकारलाई कांग्रेसको प्रश्‍न : एमसीसी रोकेर द’रिद्र नेपाल, दु:खी नेपाली बनाउन खोजेको हो ?

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सत्तारुढ नेकपा विभिन्‍न बहानामा एमसीसी सम्झौताबाट पछि हट्न खोजेको आरोप लगाएका छन्।

राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उनले सत्ताधारी पार्टीबाट एमसीसी सम्झौताको वास्तविक विषयवस्तुलाई अन्यत्र तोडमोड गर्ने काम भएको भन्दै गम्भीर आपत्ति जनाए। सत्तारुढ पार्टी भित्रको बहसले एमसीसी सम्झौताको विषय वस्तुलाई डाइभर्ट, डाइलुट, मिस इन्टरप्रिट गर्ने, राष्ट्रिय हित र असंलग्‍नता भन्‍ने परराष्ट्रनीतिको मूख्य अवधारणाबाट भाग्‍ने प्रयास भइरहेको दाबी उनले गरे।

परराष्ट्रनीतिको सञ्चालन संविधानले निर्दिष्ट गरेको बाटोबाट नभई छिमेकी र कुनै एउटा पार्टीको सिद्धान्त अनुरुप संञ्चालन गर्ने काम भएको भन्दै उनले प्रश्‍न गरे, ‘कुनै पार्टी आईडोलोजीको बन्दी देशकै परराष्ट्रनीतिलाई बनाउने कि नबनाउने?’ नेपाललाई सही ढंगले विकासको बाटोमा लैजाने हो भने कनेक्टीभिटीको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिदै उनले कुनै पनि बहानामा एमसीसीबाट पछि हट्न नहुने तर्क गरे। ‘कुनै न कुनै निहुँबाट , बहानाबाट, फगत क्रान्तिकारी लफजीको नाममा यदि यो कार्यक्रमलाई रोकिन्छ भने समृद्ध नेपाल र सुखी नेपाली को दिशामा अघि बढ्न सक्दैन’, उनले तर्क गरे। सही अर्थमा नेपालको विकास गर्न चाहने हो भने एमसिसी सम्झौताबाट पछि हट्न नहुने उनको जोड थियो।

‘नेपालको परराष्ट्रनीतिको सञ्चालन हाम्रो संविधानले निर्दिष्ट गरेको बाटोबाट संचालन हुने कि कुनै एउटा छिमेकीको इसारामा सञ्चालन हुने?’, उनले सोधे, ‘परराष्ट्रनीतिको सञ्चालन हाम्रो संविधानले निर्दिष्ट गरेको र परिभाषित गरेको बाटोबाट संचालन हुने कि कुनै अमुक पार्टीले अंगिकार गरेको आइडोलोजीबाट निर्दिष्ट हुने? हामी साँच्चिकै नेपालमा समृद्ध नेपाल र सुखी नेपाली बनाउन चाहन्छौँ कि दरिद्र नेपाल र दुखी नेपाली बनाउन चाहन्छौ?