उपसभामुखसँग ओली र प्रचण्ड वाक्क ! महाअभियोग लगाउने तयारी

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई महाअभियोग लगाउने विषयमा छलफल भएको छ ।

नेकपाको सचिवालय बैठकले शनिबार उपसभामुखलाई राजीनामा दिन निर्देशन दिएको थियो । तर, उनले नेकपाको उक्त निर्देशन मानिन् । आफू नेकपाको कार्यकर्ता नभएकाले राजीनामा दिने बताउँदै आएकी छन्।

यही क्रममा पार्टीको निर्देशनअनुसार तुम्बाहाङ्फेले राजीनामा नगरे महाअभियोग लगाउने चर्चा नेकपाभित्र सुरु भएको छ।आइतबार नेकपा शीर्ष नेताहरुको छलफलमा उपसभामुख तुम्बाहाङ्फेमाथि महाअभियोग लगाउने विषयमा छलफल भएको बुझिएको छ ।

नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले उपसभामुखले राजीनामा दिएर संवैधानिक जटिलता फुकाइदिनुपर्ने बताए। उनले राजीनामा नदिए पार्टीले थप कदम चाल्ने उनको भनाइ थियो।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले उपसभामुखले राजीनामा दिनुको विकल्प नरहेको बताए। नेम्वाङले पनि उपसभामुखले राजीनामा नदिए पार्टीले कदम उठाउने बताए। त्यो कदम के हुने भन्नेचाहिँ उनले बताएनन्।

उपसभामुखमाथि नेकपाले महाअभियोग लगाएको खण्डमा दुईतिहाइ बहुमतले संसदबाट पारित गर्नु पर्ने हुन्छ। तर, अहिले नेकपासँग दुईतिहाइ बहुमत छैन ।