
काठमाडौं। चाबहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरी निकाल्ने क्रममा सानो आन्द्रा काटिएपछि बिरामीको मृत्यु भएपछि बिरामीका आफन्त र प्रहरीबीच झडप भएको छ । शुक्रबार साँझ मृतकका आफन्तले अस्पतालको चरम लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै झगडा गर्न थालेपछि अस्पताल परिसर तनावग्रस्त भएको थियो । डाक्टरको लापरवाहीका कारण रामप्यारी थापाको मृत्यु भएको भन्दै आफन्तले शुक्रबार साँझ अस्पतालमा तोडफोड समेत गरेका छन् । प्रदर्शनकारीले हानेको इँटा लागेर केही सीसा फुटेको छ ।
अस्पताल परिसर तनावग्रस्त भएपछि प्रहरीले भीडलाई तितरबितर पार्न दुई राउण्ड अश्रुग्यास समेत प्रहार गरेको छ । झडपमा प्रहरीको लाठीबाट एक दर्जन मृतकका आफन्त घाइते भएका छन् ।लाठीले एक जना बच्चा गम्भीर घाइते भएको र उनलाई मेडिकेयर अस्पताल लगिएको छ । शान्तिपूर्वक न्याय माग्दा अरुनै व्यक्तिले ढुंगा हानेको र त्यस पछी प्रहरी ले लाठी चार्ज गरेको आफन्त बताउछन । आन्दोलनपक्ष र अस्पताल प्रशासनबीच वार्ता पनि भएको छ तर, कुनै सहमति भएको छैन ।