
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री झन्डै सवा दुई करोडको नयाँ क्वार्टरमा शुक्रबार सरेका छन् । यसअघि उनी पोखरा महानगरपालिकाले उपलब्ध गराएको गेस्टहाउसमा बस्दै आएका थिए । सरकार गठन भएपछि भने उनी सुरुमा राष्ट्र बैंक गेस्टहाउसमा केही समय बसेका थिए । २०७४ फागुनदेखि उनी पार्दीस्थित महानगरको गेस्ट हाउसमा सरे । यो गेस्ट हाउस फेवाताल अतिक्रमण गरेर बनाइएको भन्दै विवादित समेत बनेको थियो। तालको किनारमै रहेको गेस्टहाउसमा १५ महिनाको बसाइपछि शुक्रबार उनी सहिदचोकस्थित नयाँ क्वार्टरमा सरेका हुन्। यो क्वार्टर पनि प्रदेश सरकारको आफ्नै भने होइन।
जिल्ला प्रशासन कार्यालय कास्कीले प्रमुख जिल्ला अधिकारीको आवास प्रयोजनका निम्ति बनाएको हो । प्रमुख जिल्ला अधिकारी भने मुख्यमन्त्री कार्यालय भन्दा केही तल जिल्ला कारागार कार्यालय कास्कीको अगाडि रहेको सरकारी क्वार्टरमा बस्दै आएका छन् । शुक्रबार बिहान मुख्यमन्त्री गुरुङले नरिवल फोड्ने तथा पूजाआजा गरेर नयाँ क्वार्टर प्रवेशको साइत जुराएका हुन् । सेतो टीका लगाएर मुख्यमन्त्री गुरुङ पण्डितसँगै पूजाआजामा सामेल भए । त्यहाँ प्रदेशका अन्य मन्त्री तथा प्रदेशसभा सदस्यहरु सहित मुख्यमन्त्रीका आफन्त पनि उपस्थित थिए । प्रजिअको आवास प्रयोजनार्थ यो भवन निर्माणको सम्झौता भने २०७३ साल माघ २७ गते नै भएको थियो । २०७४ पुस २५ गतेसम्म सम्पन्न गर्नेगरी निर्माण जिम्मा लिएको सिएम गौचन पर्फेक्ट जेभीले तोकिएको समयभन्दा १ वर्ष ५ महिना ढिलोगरी निर्माणकार्य सम्पन्न गरेको हो।
तीनतले भवनलाई कम्पनीले भ्याटबाहेक २ करोड १५ लाख ४० हजार सात सय ४१ रुपैयाँमा सम्झौता गरेको र हालसम्म २ करोड नौ लाख ४२ हजार चार सय ८४ रुपैयाँ भुक्तानी लगिसकेको जिल्ला प्रशासन कार्यालय कास्कीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलले जानकारी दिए । भवनको बाहिरि परिसरमा सुरक्षागार्डको कक्षसहित बैठक कक्ष, चारवटा बेडरुमहरु छन्, भने भवन बाहिर फूलहरु समेत रोपिएको छ । यसअघि उनी बसेको महानगरपालिकाको गेस्टहाउस ६० लाख रुपैयाँ खर्चेर जीर्णोद्वार गरिएको थियो । भवन मर्मत गर्न सरकारले २५ लाख उपलब्ध गराएको थियो । बाँकी रकम तत्कालका लागि महानगरपालिकाले नै निकासा गरेको थियो।
यसबाहेक प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री साविकको जिल्ला कृषि कार्यालयकै क्वार्टरमा बस्दै आएका छन् । क्षेत्रीय सिँचाइ कार्यालयको आवासमा आन्तरिक मामिला तथा कानुन, आर्थिक मामिला तथा योजना, भौतिक पूर्वाधार र उद्योग पर्यटन, वन तथा वातावरणमन्त्रीको आवास छ । सामाजिक विकासमन्त्री भने स्वास्थ्य तालिम केन्द्रको क्वार्टरमा बस्दै आएकी छन् । प्रदेश प्रमुख बाबुराम कुँवरलाई साविकमा क्षेत्रीय प्रशासक बस्ने भवनलाई प्रयोग गर्दै आएका छन् । प्रदेश सरकारले हालसम्म कुनै पनि संरचनाहरु बनाएको छैन । प्रदेश मन्त्रालयदेखि प्रदेशसभा सचिवालय रहेका सबै यसअघि नै निर्मित जिल्लास्थित विभिन्न निकायका कार्यालयहरुहरु हुन् । तीनै कार्यालयहरुमा हाल प्रदेश सरकार सञ्चालन हुँदै आइरहेको छ।
हाल मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून र आर्थिक मामिला तथा योजना मन्त्रालय एउटै भवनमा रहेका छन् । यो भवन सीप विकास प्रशिक्षण केन्द्रको हो । यसैगरी सामाजिक विकास मन्त्रालय साविकको क्षेत्रीय शिक्षा निर्देशनालयको भवनमा, सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रहेका छन् । भौतिक पूर्वाधार तथा विकास मन्त्रालय सहरी विकास तथा भवन डिभिजन कार्यालयमा रहेको छ । साविकको वन कार्यालयको भवन निर्माण सम्पन्न भएपछि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहेको छ।