पेट्रोलियम पाइपलाइनको काम सकियो, तर प्रधानमन्त्री ओलीको बोलीमा प्रश्न चिह्न खडा

काठमाडौं। नेपाल आयल निगमले परियोजना कार्यान्वयन एकाइ स्थापना गरेर कामको सुपरिवेक्षण गरिरहेको छ । नेपाल आयल निगमका इन्जिनियर शरद पौडेलका अनुसार सबै पाइप बिछ्याइसकेर जडानको काम सुरु गरिएको छ ।

मोतीहारी–अमलेखगन्ज रुटमा ६९.९ किलोमिटरसम्म पाइप बिछ्याइएको छ । भारततर्फ मोतीहारीदेखि रक्सौलसम्म ३२.६५ किलोमिटर छ । त्यतापट्टि तीन महिनाअघि पाइप बिछ्याइसकिएको हो ।

नेपालतर्फ रक्सौलदेखि अमलेखगन्जसम्म ३७.२५ किलोमिटर पाइप बिछ्याइएको छ । यसमध्ये पछिल्लो समय पथलैयादेखि अमलेखगन्जसम्मको ९ किलोमिटर खण्डमा जंगलको बीचैबीच पाइप बिछ्याइएको हो । नेपालतर्फ ३.६ किलोमिटरमा ड्रिलिङ गरेरसमेत पाइप राखिएको छ ।

परवानीपुरमा २ किलोमिटर र जितपुरमा १.६ किलोमिटर बजार क्षेत्रमा ८ देखी १६ मिटरसम्म जमिनुमनि ड्रिलिङ गरी पाइप बिछ्याइएको छ । बाँकी ठाउँमा सिमेन्टको क्यानल बनाएर पाइप राखिएको छ ।

तर लामो समयदेखि चर्चामा रहेको र सरकारले आफ्नो गौरवको विषय बनाएको पाइपलाइनबाट सुरुमा सबैखाले पेट्रोलियम पदार्थ भने नेपाल ल्याइने छैन। सुरुमै पाइपलाइनबाट पेट्रोल आउने बताएका तर अहिले डिजेल मात्रै आउने भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको बोलिमा प्रश्न चिह्न खडा भएको छ ।

त्यसको कारण हो, नेपाल आयल निगमको भण्डारण क्षमता कम हुनु। तर आयल निगमको अमलेखगञ्ज डिपोमा भण्डारण क्षमता कम भएकाले शुरुमा डिजेल मात्र ल्याउन लागिएको उनीहरूले बताए।