सोमबार सार्वजनिक विदा !

मोरङ। मोरंगकतिपय स्थानिय पर्व विशेषमा स्थानिय तहहरुले आफ्नो क्षेत्रमा मात्रै भएपनि सार्वजनिक विदा दिने गरेका छन् । यहि क्रममा मोरङको उर्लाबारी नगरपालीकाले असार २ गते सोमबार सार्वजनिक विदा दिने निर्णय गरको छ ।

मोरङको उर्लाबारी नगरपालिकाले धिमाल जातिको पर्व जात्री तथा सृजातको अवसरमा असार २ गते स्थानीय विदा दिएको छ । शुक्रबार नगरपालिकाले एक सूचना प्रकाशित गरी स्थानीय सार्वजनिक विदाको घोषणा गरेको नगर प्रमुख खड्ग बहादुर फागोले जानकारी दिएका हुन्।

गत वैशाख २ गते मोरङको लेटाङ नगरपालिकाबाट सुरु भएको जात्री असार २ गते उर्लाबारी–३ मा भव्य मेला लागेर समापन हुने गर्दछ । प्रदेश नंं १ मा रहेका धिमाल समुदायले यो पर्व वैशाख २ गतेदेखि असार २ गतेसम्म मनाउने गर्छन् । प्रकृतिपुजक धिमालहरु रोगब्याधी नलागोस्, वाली विरुवा लगाउने वेलामा वर्षात होस्, जंगली जनावरले दुःख नदियोस्, भन्ने कामनासहित महाराजथानमा गएर सामुहिक पूजाआजा गर्ने गर्छन् ।

परापूर्वकालमा धिमालहरुले यी समस्याहरु समाधान गर्न ग्रामधानमा पूजा गर्दा कामना पूरा भएको र यसलाई निरन्तरता दिदैं मनाउदै आएको जनविश्वास छ ।