बाबाको मृत्युमा पनि आफ्ना कार्यकर्तालाई भेट्न नदिएकोप्रति विप्लव आक्रोसित

काठमाडौ। प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले पार्टीका निवर्तमान कोसी ब्युरो संयोजक घनश्याम श्रेष्ठका बुबा गिरिबहादुर श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

ओखलढुंगाको लिखु गाउँपालिका ५ निवासी ७४ वर्षीय श्रेष्ठको क्यान्सर रोगको उपचार गराउँदा गराउँदै जेठ ३१ गते शुक्रबार काठमाडौँमा निधन भएको हो । महासचिव विप्लवले वक्तव्यमा शोकाकुल घनश्याम लगायत परिवारजनप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन् ।

गिरिबहादुर श्रेष्ठ जनयुद्धमा तत्कालीन राज्यसत्ताबाट बेपत्ता बनाइएका हेमनारायण श्रेष्ठका बुबा समेत हुन् । घनश्याम श्रेष्ठ २ महिनादेखि मोरङ कारागारमा छन् ।

महासचिव विप्लवले वक्तव्यमा भनेका छन् ‘वर्तमान केपी–पीके कम्पनीको दलाल पुँजीवादी सरकारले हाम्रो पार्टीमाथि प्रतिबन्ध लगाएपछि सयौँ नेता–कार्यकर्तामाथि झूट्टा मुद्दा लगाएर हिरासत र जेलको यातनापूर्ण जीवन बिताउन बाध्य पारेको छ । कमरेड पुष्करलाई पनि विभिन्न झूट्टा मुद्दा लगाएर बन्दी बनाइएको छ ।

बुबा गिरिबहादुर श्रेष्ठले अन्तिम समयमा छोरा पुष्करसँग भेट गर्ने इच्छा व्यक्त गर्नु भएको तर उहाँको अन्तिम इच्छालाई समेत लत्याउँदै यो सरकारको गृह प्रशासनले क्रुरता र निचताको पराकाष्ठा प्रदर्शन गरेको छ ।

मानवीय संवेदनशीलतामा समेत क्रूरता प्रदर्शन गर्ने केपी–पीके कम्पनीको यस्तो क्रियाकलापप्रति हामी खेदसमेत प्रकट गर्दछौँ ।