
काठमाडौँ। कुनै पनि परम्परागत जात्रा वा चाडपर्व सञ्चालन गर्न तथा मन्दिर वा धार्मिक स्थल संरक्षण र सम्भार गर्न स्थानीय सहभागितामा बन्ने समूह नै गुठी हो। यो यस्तो संस्था हो, जसले नेपालको मौलिक मूर्त–अमूर्त सम्पदा जोगाउँदै आएको छ। यसको सुरुआत लिच्छविकालमै भएको इतिहास छ। ‘गुठी’ शब्दको पहिलो उल्लेख मानदेवको पालामा भएको थियो।
गुठी भनेका धार्मिक वा सांस्कृतिक कामका लागि मात्र हुँदैनन्। बाटोघाटो बढार्ने, मठ–मन्दिर सफाइ गर्ने, असहाय तथा अपांगता भएका व्यक्तिको खानपिन र बसाइ बन्दोबस्त गर्ने, पोखरीका माछा वा मन्दिरका परेवाको रेखदेख गर्नेजस्ता कल्याणकारी कार्यमा पनि गुठी परिचालित हुन्छन्।
यति मात्र होइन, मान्छेको जन्मदेखि मृत्युसम्मका विभिन्न विधान गर्न अलग–अलग गुठी बनेका हुन्छन्। यी गुठीले कुनै न कुनै रूपमा धर्म, संस्कृति तथा परम्पराको निरन्तरतामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको पाइन्छ। धार्मिक तथा सांस्कृतिक विधानलाई सामाजिक स्मरणमा राखेर पुस्तैनी निरन्तरता दिनमा पनि यसको योगदान छ।
नेवारहरूका विभिन्न गुठीमध्ये मृत्युपछि सद्गत र काजकिरिया गर्ने गुठी ‘सीः गुठी’ यो । यसले विभिन्न साइतमा पूजाआजा पनि गर्दै आएको छ। गुठियारहरू त्यस्ता पूजामा सरिक हुनुपर्छ। नेवारहरूमा जन्म, मृत्युदेखि बाँचुञ्जेलका हरेक गतिविधि विभिन्न गुठीसँग जोडिन्छन्। गुठियारले त्यसका मुख्य–मुख्य गतिविधिमा सहभागी हुनुपर्छ। एउटै कूलका मान्छे छुट्टभिन्न भएर अलग–अलग बस्न थाले पनि गुठी संस्कृतिले सधैं एकठाउँ बाँधेर राख्छ ।
गुठी मास्नु वा त्यसको व्यवस्थापनलाई गुठियारहरूको स्वामित्वबाट खोसेर सरकारीकरण गर्नु भनेको ती सम्पूर्ण गतिविधि अवरुद्ध पार्नु हो।
गुठी र जग्गा-जमिनको सम्बन्ध
गुठी भन्नेबित्तिकै त्यसको स्वामित्वमा रहेको जग्गा, जमिन वा अन्य भौतिक सम्पत्तिमा मात्र धेरैको आँखा जान्छ। जबकि, यसको महत्व जग्गा–जमिन होइन। त्यो त गुठीले आफ्नो जिम्मामा परेको धार्मिक, सांस्कृतिक वा सामाजिक कार्य गर्न जोगाएको सम्पत्ति हो। त्यही सम्पत्तिबाट हुने आयले नै गुठीका वार्षिक गतिविधि सञ्चालन हुन्छन्।
धेरैलाई लाग्न सक्छ, सरकारले गुठी व्यवस्थापन निम्ति प्राधिकरण स्थापना गर्ने र त्यसले नै चल–अचल सम्पत्ति बेचबिखन गर्न सक्ने व्यवस्था गरेकाले गुठियारहरू आन्दोलित भएका हुन्।
यहाँ गुठियारहरूको अधिकार एउटा महत्वपूर्ण पक्ष त हो, तर उनीहरूको आन्दोलन त्यतिमै सीमित छैन।
यसलाई बुझ्न इन्द्रजात्राको उदाहरण लिउँ।
बाहिरबाट हेर्दा इन्द्रजात्रा भनेको कुमारीको रथ घुमाउने, आकाश भैरवलाई मन्दिर प्रांगणमा सजाउने, महाकाली नचाउने, श्वैत भैरवको मुखबाट रक्सी खुवाउनेजस्ता गतिविधि मात्र देखिन्छ। तर, यी सबै गतिविधि सञ्चालन गर्ने को?
ललितपुरमा आइतबार भोटो देखाउँदै रातो मच्छिन्द्रनाथको जात्रा सकियो। यो नेपालकै सबभन्दा लामो चल्ने जात्रा हो। बुङमतीबाट बुंगद्यः ल्याउनेदेखि रथ बनाउने, भोज खुवाउने र भोटो देखाउनेसम्मका गतिविधि यसअन्तर्गत पर्छन्? यी सबै काम कसले गरे?
सरकारले यस्ता महत्वपूर्ण जात्रापर्व सञ्चालन गर्न संस्कृति मन्त्रालयमार्फत् केही आर्थिक सहयोग गर्छ। महानगरको पनि सहयोग रहन्छ। तर, पैसाले मात्र सबथोक हुने होइन।
इन्द्रजात्रा, मच्छिन्द्रनाथ वा भक्तपुरको बिस्काः देखि काठमाडौं उपत्यकाका सानाठूला सबै जात्रापर्व निरन्तर चल्नुमा स्थानीय गुठीहरूको हात छ। जात्रापर्वसँग जोडिएका सबै गतिविधि गुठीहरूबाटै हुन्छन्। एउटा–दुइटा होइन, दर्जनभन्दा बढी गुठी संलग्न रहन्छन्।
इन्द्रजात्राकै कुरा गर्दा, आकाश भैरव मूर्तिको सरसफाइ, रंगरोगन र सजावटको काम एउटा गुठीले गर्छ भने त्यहाँ चढाइने फूल–पुष्पको बन्दोबस्त अर्को गुठीले गर्छ। श्वेत भैरवको मुखबाट खुवाइने रक्सी अर्कै गुठीले बनाउँछ। कुमारीको रथ बनाउने गुठी एउटा हुन्छ, कुमारीको स्याहारसुसार र नित्य पूजाआजा गर्ने अर्को।
भन्नुको मतलब, बाहिरबाट हेर्दा एउटैजस्तो देखिने चाडपर्व र जात्रा सञ्चालन गर्न अनेकौं गुठी संलग्न हुन्छन्।
यसको फाइदा के भने, जात्रापर्वको जिम्मेवारी र कामको बोझ एउटै समूहमा पर्दैन। सबै गुठीले आ–आफ्नो जिम्माको थोरै थोरै काम गर्दै जाँदा एउटा महाउत्सव सम्पन्न हुन्छ।
विधेयक जस्ताको तस्तै पारित भयो भने के होला त?
विधेयक जस्ताको तस्तै पारित हुने हो भने गुठियारहरूको अधिकार अन्त्य हुनेछ र त्यसको जिम्मा प्राधिकरण वा त्यही धार्मिक संस्था र त्यहाँका पुजारीको हातमा जानेछ।
कुनै पनि व्यक्ति वा समूह आफ्नो स्वामित्वमा रहेको काम सम्पन्न गर्न जति गम्भीर र जिम्मेवार हुन्छ, त्यति नै गम्भीर सार्वजनिक काममा हुँदैन।
मानिलिउँ, यो विधेयक पास भएपछि जात्रासँग सम्बन्धित अधिकार अहिलेका गुठियारबाट खोसेर सरकारी कर्मचारी रहने प्राधिकरण मातहत लगियो भने आजको दिनसम्म जसरी इन्द्रजात्रा मनाइँदैछ, जसरी रथयात्रा गरिँदैछ, त्यो संस्कृतिले निरन्तरता पाउला?
सम्पदा भनेको संरचना होइन, त्यसलाई जीवन्त राख्ने समुदाय हो।
गुठियारहरूको अधिकार रहन्छ कि रहँदैन भन्ने प्रश्न त गौण हो, त्योभन्दा ठूलो प्रश्न उनीहरूको अधिकार रहेन भने परम्परागत रूपले चलिआएको धर्म, संस्कृति र सभ्यताले निरन्तरता पाउन सक्छ कि सक्दैन भन्ने हो।
यो विधेयकले काठमाडौंको नेवार संस्कृति र सभ्यता कसरी धराशयी बनाउँछ?
नेवार सभ्यता भनेको कुनै जाति विशेषसँग मात्र सम्बन्धित छैन। यो काठमाडौं उपत्यकामा दुई हजार वर्ष वा त्योभन्दा बढी समयदेखि चल्दै आएको थिति हो।
जाति भनेका यो सभ्यतालाई निरन्तरता दिने कडी मात्र हुन्। योसँगै यहाँका चाडपर्व जोडिन्छन्, भाषा जोडिन्छ, बाजा जोडिन्छ, गीत–संगीत र लिपि जोडिन्छ, जात्रा जोडिन्छ, सांस्कृतिक झाँकीहरू जोडिन्छन्। ती सबै कुनै न कुनै गुठीमै आबद्ध भएकाले विधेयकले समग्रमा यहाँको नेवार संस्कृतिलाई असर पार्छ भनिएको हो।
काठमाडौं उपत्यकाभित्र धेरै गुठी भएकाले पनि यसको असर यहाँ बढी हुनेछ। त्यही भएर विधेयकको सबभन्दा बढी विरोध यहीँ हुँदै आएको छ।
पशुपति विकास कोषका पूर्व सदस्य–सचिव टन्डन विधेयक पारित भए लिच्छविकालदेखिको गुठी इतिहास धराशयी हुने र गुठीमार्फत् चल्दै आएको चाडपर्व र संस्कृति मासिने बताउँछन्।
के यो विधेयकबाट प्रभावित हुने भनेका नेवार मात्र हुन्?
कुनै पनि सम्पदा र संस्कृतिसँग जोडिने भनेको जाति विशेष मात्र होइन। त्यो सभ्यताअन्तर्गत रहने सबैलाई यसले बराबर असर गर्छ।
यसबाट काठमाडौं घुम्न आउने विदेशीहरू पनि प्रभावित हुन सक्छन् ।
विदेशीहरू हामीकहाँ आउने भनेको मन्दिरको संरचना मात्र हेर्न होइन, त्यहाँ भइरहेका धार्मिक वा सांस्कृतिक अभ्यास हेर्न हो । यस्ता मूर्त र अमूर्त संरचनाले नै सभ्यता जीवित राख्छ।
जाति विशेषकै कुरा गर्ने भने, काठमाडौंभित्र मात्र होइन, बाहिर रहेका गुठी पनि प्रभावित हुन्छन् ।
धर्मकर्म रक्षा र संस्कृतिको निरन्तरता निम्ति पुर्वजले भगवानका नाममा छुट्याएको चलअचल सम्पत्ति नै गुठी हो। पुर्वजले धार्मिक आस्था कमाउन मठ–मन्दिर, धर्मशाला, पाटीपौवा, ढुंगेधारा, कुवा, पोखरीजस्ता सम्पदा गुठी मातहत निर्माण गर्थे । यो विधेयक पारित भए ती सबै प्रभावित हुनेछन्, चाहे त्यसमा आबद्ध समुदाय नेवार होस् वा गैरनेवार।
कुनै एक व्यक्ति वा प्राधिकरणमा सम्पत्तिको स्वामित्व केन्द्रित गर्दा अपचलनको खतरा बढी हुन्छ ।
खानेपानी ल्याउने, सडक बढाउने वा इँटा छाप्ने काम गुठीअन्तर्गत समुदायबाट हुँदै आएको छ । गुठी भनेको सामुदायिक सहभागिताको राम्रो उदाहरण हो। यो यस्तो संस्था हो, जसको काम स्वचालित छ। कसैलाई गुहार्न पर्दैन।