महिलाले तीन जना सन्तलाई भोजन गर्न बोलाइन्, सन्तले तीनै जना एउटै घरमा नजाने बताएपछि…

काठमाडौं। एउटा प्राचीन लोक कथाका अनुसार प्राचीन समयमा तीन जना सन्त एउटा गाउँमा बस्थे। उनीहरु विहानै उठेर गाउँमा भिक्षा माग्न जान्थे। भिक्षामा जे पाइन्छ त्यसैले आफ्नो जीवन चलाउँथे।

एक दिन गाउँकी एक महिलाले तीन जना सन्तलाई आफ्नो घर बाहिर देखिन्। ती महिलाले तीनै जना सन्तलाई आफ्नो घरमा आएर भोजन गर्न आग्रह गरिन्।

एक सन्तले महिलालाई सोधे–अहिले तिम्रो पति घरमा छन्?’ महिलाले श्रीमान घरमा नभएको बताइन्। महिलाको कुरा सुनेपछि सन्तले श्रीमान र बच्चा आएपछि आफूहरुलाई बोलाउन भने।

साँझ परेपछि महिलाका श्रीमान र बच्चा घरमा आए। तब महिलाले सन्तले भनेको कुरा श्रीमानलाई सुनाइन्। श्रीमान पनि सन्तलाई भोजन गराउन सहमत भए। महिला सन्तलाई बोलाउन आश्रममा गइन्। सन्तले आफूहरु तीनै जना एकैसाथ कसैको घर नजाने बताए।

महिलाले किन नजाने भनेर सोधिन्। सन्तले भने–हाम्रो नाम धन, सफलता र प्रेम हो। तिमी आफ्ना श्रीमानलाई सोधेर भन हामी मध्ये कसलाई आफ्नो घर बोलाउन चाहन्छौ?’

महिला घर फर्किएर सबै कुरा श्रीमानलाई बताइन्। श्रीमानले धन नाम गरेका सन्तलाई घरमा बोलाउने उचित हुने सल्लाह दिए। त्यसो गर्यो भने धन लाभ हुने उनको विश्वास थियो।

महिलले सफलतालाई बोलाउन उचित हुने बताइन्। सफलतालाई बोलायो भने सबै काममा सफलता प्राप्त हुने उनको विश्वास थियो।
तर उनीहरुका बच्चाले भने प्रेमलाई घर बोलाउन सुझाव दिए। उनले प्रेम भन्दा ठूलो संसारमा केही छैन। श्रीमान श्रीमतीले बच्चाको कुरामा सहमति जनाए।

महिला फेरि सन्त भएको ठाउँमा गइन् र प्रेमलाई आफ्नो घरमा भोजनकालागि आमन्त्रित गरिन्। अब प्रेम नाम गरेका सन्त महिलाको घर जान हिँडे। तब अन्य धन र सफलता नाम गरेका सन्त पनि उनीहरु जान हिँडे। तब महिलाले भनिन्–तपाइँहरु तीनै जना एउटा घर नजाने भन्नु भएको थियो। अहिले फेरि किन तीनै जना सँगै मेरो घर हिँड्नु भयो ?’

सन्तले भने–धन वा सफलतालाई बोलाएको भए केवल एक जना मात्रै तपाइँको घर जान्थ्यौं। तर तपाइँले प्रेमलाई बोलाउनु भएको छ। जहाँ प्रेम हुन्छ, त्यहाँ धन र सफलता आफैं जान्छन्।

यो कथाबाट के शिक्षा मिल्छ भने हामीले जीवनमा सबैभन्दा धेरै महत्व प्रेमलाई दिनुपर्छ। जुन घरमा प्रेम हुन्छ, त्यहाँ सुख, शान्ति र सम्पन्नता हुन्छ। घरमा प्रेम भइराख्यो भने व्यक्ति धन सम्बन्धी काम राम्रोसँग गर्न सक्छ।