खुम्बुमा भेटियो अनौठो तथ्य

काठमाडौं । खुम्बु हिमनदीको पिँधमा रहेको बरफमा तापक्रम बढेको नयाँ तथ्य सार्वजनिक भएको छ । विश्वकै सबभन्दा उचाइमा रहेको हिमनदीको पिँधसम्मै प्वाल पार्दा हिमालय क्षेत्रको अस्वभाविक, अनौठो तर सतर्कता अपनाउनुपर्ने तथ्य भेटिएको हो।

हिमनदीको २ सय मिटर गहिराइसम्म ड्रिल गरेर संकलन गरिएको तापक्रमको सूचीमा न्यूनतम तापक्रम –३.३ डिग्री सेल्सियसमात्र छ । उच्च हिमाली भूभागमा रहेको बरफको तापक्रम निकै कम रहनुपर्ने अपेक्षा गरिएको थियो । तर, यो तथ्यलाई डरलाग्दो यसकारण पनि मानिएको छ कि सामान्यतया शून्य डिग्री सेल्सियसमा बरफ पग्लन्छ । अध्ययनकर्ताका अनुसार बरफको यो तापक्रम निकै बढी हो।

अध्ययनकर्ताले हिमनदीको १ सय ९० मिटर गहिरो हिउँमा ड्रिल गरेर अध्ययन गरेका हुन् । यसरी ड्रिल गरेर गरिएको अध्ययन पहिलोपल्ट हो जसमा सगरमाथाको आधार शिविरदेखि खुम्बु हिमनदी टर्मिनल मोरेनसम्मको न्यूनतम तापक्रम –३.३ डिग्री सेल्सियस रहेको पाइएको हो।

खुम्बु हिमनदीको तापक्रम वायुमण्डलीय वार्षिक औसत तापक्रमभन्दा २ डिग्री बढी रहेको पनि पत्ता लागेको छ । अर्थात वर्षभरिको हावाको औसत तापक्रमभन्दा बरफको तापक्रम बढी छ । यसले हिउँ पग्लिने क्रम बढेको संकेत गर्दछ । खुम्बु हिमनदीमा रहेको ५६ प्रतिशत बरफ तातो रहेका कारण पनि यस तथ्यले सावधानी अपनाउनुपर्ने निष्कर्ष निकालेको बताइएको छ।

“५ हजार ३ सय मिटर उचाइको खुम्बु क्षेत्रमा हिमनदीको बरफ –१० डिग्री सेल्सियस हुनसक्ने अनुमान थियो,” अध्ययनमा संलग्न हिमालयन रिसर्च सेन्टरका अध्यक्ष डा. धनञ्जय रेग्मीले बाह्रखरीसँग भने, “ड्रिल गरेर नाप्दा बरफको तापक्रम ० देखि –३.३ डिग्रिसम्म मात्र भेटियो ।” यसले हामी खतरामा रहेको संकेत गरेको उनले दाबी गरे।

रेग्मीले थपे, “बरफको तापक्रम –१० वा –१५ डिग्री सेल्सियस रहेको भए बरफ पग्लन अझै समय छ भन्ने बुझिन्थ्यो । तर, त्यस्तो अवस्था देखिएन ।” यसको अर्थ हिउँ पग्लिएर सकिने अवस्था छ भन्ने बुझिन्छ । उच्च हिमाली भूभागको तापक्रम बढेको कुरा हालसम्म भोगाइका आधारमा मात्र विश्वास गरिन्थ्यो भने अबदेखि सफल्ड मै गएर संकलन गरिएको तथ्य समीक्षा गर्न सकिने भएको छ।

यो अध्ययनले हिमालय क्षेत्रको बरफको तापक्रम प्रतिदशक आधा डिग्री सेल्सियसले बढ्दै गएको तथ्य समर्थन पनि गर्दछ । यो तथ्यले केही डिग्री तापक्रम बढ्नेबित्तिकै हिमनदीको बरफ छिटो पग्लिने क्रम सुरु हुने देखाएको छ । यसले बाढी र सुख्खापन निम्त्याउने जोखिम देखिएको जानकारहरुको दाबी छ।

यो अध्ययनको नाम ‘एभर ड्रिल’ रहेको थियो जसमा लिड्स विश्वविद्यालयले अन्य ३ विश्वविद्यालयको आवद्धतामा ३ वर्ष लगाएर सम्पन्न गरेको हो । यस कार्यमा हिमालय रिसर्च सेन्टर रिसर्च पार्टनरको रुपमा सामेल थियो भने नेपाल जियोग्राफिकल सोसाइटी, नेचुरल इन्भाइरोमेन्ट रिसर्च काउन्सिललगाएत संस्था यसमा आवद्ध थिए।

अध्ययन टोलीका प्रमुख डा. क्वेन्सिले यो तथ्य अध्ययनकर्ताले सोचेभन्दा निकै धेरै भएको बताए । उनका अनुसार तातो बरफको थोरैमात्र तापक्रम बढ्दा हिमनदीभित्रको बरफ छिटो पग्लिने, बगेर नयाँ हिमताल बन्ने र यसले ग्ल्यासियल लेक आउटब्रस्ट फ्लो (ग्लफ) को जोखिम निम्त्याउने देखिएको छ । उनले भने, “बरफको भित्रि तापक्रम बढ्दा बरफको जटिल गतिशीलता खलबलिन्छ । यसले हिमालय क्षेत्रका तल्लो तटमा रहेका लाखौं परिवारमा पानी आपूर्ति व्यवस्थामा असर पुग्नेछ।”

अध्ययनकर्ताका अनुसार जमिनको सतहदेखि २० मिटरसम्मको बरफको तापक्रम ० डिग्री तापक्रम हुन्छ र २० मिटरभन्दा गहिराइमा मात्र बरफको वास्तविक तापक्रम थाहा हुन्छ।

नेपाल भौगोलिक समाजका अध्यक्ष प्रा. डा. नरेन्द्रराज खनालका अनुसार जलवायु परिवर्तनका कारण सिर्जना भएको यसकिसिमको असरले खोलामा पानीको स्तर घट्ने खतरा छ । जलविद्युत, सिचाईं र खानेपानी व्यवस्थामा लगायतमै असर पार्न सक्छ । उनले भने, “एउटै मौसमा हिउँ जम्मा हुने र एउटै मौसम पग्लने भएपछि हिउँदमा खोलामा पानी बग्दैन । पानीको हाहाकार हुन सक्छ।”

अध्ययन टोलीले सगरमाथा आधार शिविर र खुम्बु आइसफलसमेत पर्ने खुम्बु क्षेत्रमा फैलिएको हिमनदीको ५ किलोमिटर लम्बाइमा २७ वटा ड्रिल होल तयार पारेको थियो । ड्रिल होल तयार पार्न उच्च चापसहितको कार सफा गर्ने औजार पारिएको थियो । जसमा तातो पानी पठाएर ड्रिल गरिएको हो । अध्ययनकर्ताका अनुसार तामक्रम नाप्ने सेन्सको प्रयोग गरी महिनौ समय लगाएर तापक्रमको तथ्यांक संकलन गरिएको हो।