कतै नभएको बिहे जनकपुरमा, बेहुला पक्षका जन्तीहरु रातारात टाप

जनकपुरधाम। पछिल्ला दिनहरुमा शाकाहारी र मांसाहारी भन्ने दुई वर्ग बिचको भिन्नता बढ्दै गएको छ । यस्तै एउटा घटना धनुषामा पनी देखिन आएको छ ।

जनकपुरको मुजेलियामा सञ्चालित होटेल राजदरबारमा शाकाहारी खानामा हड्डीको टुक्रा भेटिएपछि बेहुला र बेहुली पक्षबीच चर्काचर्की भएको हो । होटेल राजदरबारको बदमासीले विवाह नै टुट्नेसम्मको अवस्था सिर्जना भएको बताइएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–९, थापाचोक निवासी रामबाबु यादवले छोरीको विवाहको सम्पूर्ण व्यवस्थापन ३ लाख ६५ हजार रुपैयाँमा शुक्रबार राति राजदरबार होटेलमा गरेको थियो । विवाहको लागि सिरहाको सुखीपुर नगरपालिका २ विद्यानगरबाट शिवशंकर यादवका छोराको जन्ती आएका थिए ।

राति १२ बजे बेहुला र बेहुलीबीच स्वयम्बर सकिएपछि बेहुलासहित सबै जन्ती खाना खाने तयारीमा लागेका थिए । बेहुलासहित जन्तीका धेरै मानिस शाकाहारी भएकाले पहिले नै होटेलवालालाई भनेर दालभात तरकारीसहित शाकाहारी भोजनको व्यवस्था गर्न लगाइएको थियो ।

तर जब सबैले खाना खान सुरु गरे तब सबैको खानामा हड्डीको टुक्रा फेला पर्न थाल्यो । त्यसमा धेरै वैष्णव कन्ठीधारी जन्तीसमेत भएकाले आफ्नो धर्मको अपमान गरेको भन्दै जन्तीहरु खाना छाडेर छोरी पक्षमाथि आक्रमक नै हुनुपर्ने अवस्थाको सिर्जना हुनपुग्यो ।

यहाँसम्मकी बेहुलासमेतले विवाहका लागि अस्वीकार गरी राति नै जन्ती सहित फर्कर्ने चेतावनीसम्म दिएपछि तनाब थप बढ्यो । ९० प्रतिशत जन्ती राति नै खाना छाडेर आक्रोशित हुँदै विवाह बहिस्कार गरी घर तर्फ लागेका थिए ।

तर बेहुली पक्षको हारगुहारपछि बेहुलाका घरपरिवार विवाह गर्न राजी भए । र बेहुला पक्षका केही आफन्तजन मात्र बसे । यसमा होटलवालाको चरम बदमासी भएकाले त्यसको निर्णय पछि गर्ने भन्दै विवाह सम्पन्न गरिएको छ ।

राति विवाद भएको बेला वडा प्रहरी कार्यालयका प्रहरी टोली त्यहाँ पुगेको थियो । हेटेल व्यवस्थापन पक्षले बिहान ७ बजे छलफल गर्ने समय मिलाएको थियो । तर बिहानदेखि होटेल सञ्चालक मोबाइल स्विच अफ् गरी सम्पर्क बाहिर गएका छन् ।

बेहुलीका बुबा रामबाबु यादवले छोरीको विवाह नै भाँड्ने गरी र धर्मभ्रष्ट बनाउने गरी खानमा हड्डीका टुक्रा मिसाएकाले होटेलमाथि कडा कारबाही हुनुपर्ने माग गरेका छन् । होटेल सञ्चालक अहिले सम्पर्क बाहिर छन् ।