नेवारका ज्वाइँ नेता : पहिले छोरी माग्ने, अहिले गुठी मास्ने ?

काठमाडौं। गुठी विधेयकको चौतर्फी विरोध भइरहँदा नेकपाका नेताहरु के सोचिराखेका होलान् ! अझै तिनका पत्नी र परिवारका सदस्यमा कस्तो गफगाफ होला ?

नेवार जातिको संस्कृति र सम्पदा नष्ट गर्ने ‘कम्युनिष्ट’ सरकारको दृष्टता हो भन्ने आरोप पनि छ । कतिपयले ‘कम्युनिष्टहरुले आफ्नो जात जनाए’ पनि भनेका छन् । धर्म, संस्कृति नष्ट गर्ने कम्युनिष्टको उद्देश्य नै हो भन्ने तिनको तर्क छ । भलै नेकपावालाहरु कम्युनिष्ट नभएको कुरा उनीहरुले स्वयं स्वीकार गरिसकेका छन् ।

यस्तो अवस्थामा गुठी भत्काउने नेकपा सरकारको योजनाभित्र संस्कृति, धर्म नष्ट गर्ने भन्दा पनि सम्पत्ति, सांगठनिक ‘इगो’ वा जमिनमाथिको ‘कब्जा’ चाहीँ हुनसक्छ ।

नेवार समुदायको वर्षौँ पुरानो इतिहास र संस्कृति जोडिएको गुठी परम्पराबारे यहाँ खासै चर्चा हुने छैन । बरु यो समुदायसँग सम्बन्ध गाँसेका नेताहरु नै आज किन यसरी गुठी भत्काउँदैछन् ?

खासमा नेकपामा पूर्व एमाले समूह हावी हुँदैआएको छ । गुठी विधेयकको योजनाको हिस्सेदार पनि पूर्व एमाले समूहकै नेताहरु पर्नु स्वभाविक भयो । अनौठो त के भने, पूर्व एमालेका थुप्रै नेताहरु प्रभावशाली छन्, जसले काठमाडौंका नेवारका छोरी विहे गरेका थिए ।

बुझ्दै जाँदा नेवार समुदायमा विहे गर्ने पूर्व एमलेहरुको लामै सूची रहेछ । मनमोहन अधिकारीदेखि सुरु भएको त्यो ‘अभियान’ पछिल्लो पुस्ताको नेता गोकर्ण विष्टसम्मै आइपुग्यो ।

त्यसो त, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले नै नेवार समुदायसँग साइनो जोडे । काठमाडौंको आदिवासी नेवार समुदायलाई ससुराली बनाएका ओली नै आज नेवार सम्प्रदाय भत्काउने नेताको रुपमा आरोपित भएका छन् । ओलीकी पत्नी राधिका शाक्य राष्ट्रिय वाणिज्य बैंकको अधिकृत भएर पनि आफ्नो नेवार संस्कृति र परम्पराबाटा कहिल्यै टाढा छैनन् । यतिसम्म कि, धर्मसँग जोडिने कतिपय ‘अन्धता’ पनि उनलाइ प्यारो नै लाग्छ ।

पूर्वएमालेका अध्यक्ष झलनाथ खनालले पनि शाक्य परिवारलाई नै ससुराली बनाएका हुन् । भूमिगत कालमै इलामका बाहुन खनालले त्यसबेला ‘जनवादी विवाह’ गरेका थिए । संयोग कस्तो भने अमृत बोहराकी पत्नी अष्ठलक्ष्मी शाक्य नै झलनाथको विवाह गराउन लगभग लमी जस्तै बनेकी थिइन् ।

राजनीतिक पृष्ठभुमिबाट आएकी झलनाथकी श्रीमती रविलक्ष्मी पछि प्राध्यापनमा लागिन् भने अष्टलक्ष्मी श्रीमान अमृतसँगै पार्टीको होलटाइमर कार्यकर्ता बनिन् । अन्ततः सिन्धुपाल्चोकबाटै उनले आफ्नो राजनीतिक करिअर बनाइन् ।

ओखलढुंगाबाट काठमाडौं पढ्न आएका ईश्वर पोखरेल पढाइसँगै राजनीति पनि गरे । र राजनीतिसँगै प्रेम पनि गरे, त्यो पनि उपत्याकाकै नेवारकी छोरीसँग । पूर्व एमालेको महासचिव बनेका ईश्वरकी पत्नी मीरा ध्वजु पनि सांसद बनिन् । उता धादिङका सुरेन्द्र पाण्डेले पनि ललितपुरकी नेवारकी छोरी पूर्णसोभा चित्रकारसँग विवाह गरे । जब कि, पूर्णसोभा स्वयं राजनीतिमा थिइन् । पछि बिस्तारै राजनीति छोडेर ‘एनजीओकर्म’तिर लागिन् ।

शंकर पोखरेल पनि एमालेमा छँदा हर्ताकर्ता नेता नै थिए । एमालेको सचिव भए पनि पार्टीको निर्णय प्रक्रियामा हावी हुन्थे । उनै पोखरेलको ससुराली काठमाडौंकै नेवार समुदाय हो । विद्यार्थी राजनीतिबाट प्रभाव जमाएका पोखरेलले विद्यार्थी राजनीतिमै प्रेम सम्बन्ध गाँसेर सुजितासँग विवाह गरेका थिए ।

गुल्मीबाट आएका गोकर्ण विष्ट त्यस्तै नेता हुन्, जसले नेवार समुदायकै छोरी रोजे । विवाह गर्नेबेला विद्यार्थी राजनीतिमा जमिसकेका थिए । विद्यार्थी राजनीतिमा सक्रिय नभए पनि रुची राख्ने प्रतिमासँग उनले विवाह गरे । जो काठमाडौंकै रैथाने नेवारी छोरी थिइन् । प्रतिमा पढाउन थालिन् । गोकर्ण भने पार्टी राजनीति हुँदै सांसद, मन्त्री बने ।

प्रेमसँगै राजनीति पनि

स्मरणीय के छ भने, तत्कालिन माले आन्दोलनको समयमा भूमिगत राजनीति गरेका अहिलेका नेकपावाला नेताहरुलाई काठमाडौंकै रैथाने नेवारले संरक्षण दिएको हो ।
नेकपाका एक पुराना नेताका अनुसार काठमाडौंमा कसरी लुकेर राजनीति गर्ने भन्ने त्यसबेला उनीहरुको ‘अघोषित निर्णय’ नै थियो । अन्ततः नेकपा नेताहरु पढाइमा सफल नभए पनि प्रेम र राजनीतिमा भने सफल नै बने । र यो सफलतामा काठमाडौंको नेवार समुदायको ऐतिहासिक भूमिका नै ठहरिन्छ ।

अहिले तिनै पूर्वएमाले नेताहरुको ठूलो झुण्डमाथि अहिले काठमाडौंको नेवार समुदाय आक्रोशित बनेको छ । त्यसो त, गुठी विधेयक ल्याउनुमा उनै नेताहरुको भूमिका छ ।

चुनावी चलखेल

हरेक चुनावमा कम्युनिष्ट पार्टीमा हुने उटा महत्वपूर्ण खैलाबैला के हो भने, ‘काठमाडौंमा कसरी धेरै भन्दा धेरै क्षेत्र जित्ने ?’ यसका लागि उनीहरुले कठिन मेहनत पनि गरेकै हुन् । नेवारका गुठी, सम्प्रदाय, भोज, टोलटोलमा पुगेर अनेक नाता जोड्दै नेताहरुले भोट मागे ।

त्यसैले त, ‘ठूला’ नेताहरु सधैँ काठमाडौंमा बारम्बार चुनाव लडिरहे । जन्मे हुर्केको गाउँ, जिल्लालाई त चुनावी क्षेत्र बनाउँथे नै । राजधानी काठमाडौंलाई पनि वैकल्पिक क्षेत्रको रुपमा ‘दुरुपयोग’ नै गरे । जस्तो कि, माधव नेपालले एउटा खुट्टा रौतहटमा र अर्को खुट्टा काठमाडौंमा टेकिरहे ।

त्यसो त, काठमाडौंमा चुनाव जिताउन नेवार समुदाय मात्रै पर्याप्त नहोला, तर हराउन चाहीँ काफी हो । यसकारण पनि कम्युनिष्ट पार्टीका नेताहरु नेवार समुदायसँग विशेष सम्बन्ध बनाउन चाहन्थे । तर यहाँको नेवार समुदायलाई विद्यासुन्दर शाक्यले त धोका दिएकै थिए, तर नेवारका ‘ज्वाइँ’ ठानिएका प्रधानमन्त्रीले नै बेइमानी गरे । अन्नपुर्ण पोस्ट