गाँजा खेती गरिए पाँच वर्षमै आउँछ समृद्धि

काठमाडौं । मुलुकमा समृद्धि ल्याउनका लागि गाँजाको खेती उपयुक्त विकल्प भएको सरोकारवालाहरुले बताएका छन् ।

जनता टेलिभिजनको कार्यक्रम खुल्लामञ्चमा संसदमा गाँजालाई वैधानिकता दिनुपर्ने सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुहुने सांसद विरोध खतिवडाले गाँजा खेतीलाई व्यवस्थित ढंगले चलाउने हो भने नेपालमा समृद्धि आउन सक्ने बताउनुभयो । उहाँले विश्वका ६५ देशमा गाँजाकाे वैधानिक खेती गर्न थालिएको बताउँदै नेपालले अब अवैध बनाइएको गाँजा खेतीलाई वैध बनाउन ढिला गर्न नहुँने तर्क राख्नुभयो ।

नेपाल सरकारका पूर्व सचिव भीम उपाध्यायले थुप्रै औषधीको स्रोत रहेको वनस्पती गाँजा वैधानिकता दिने हो भने नेपालले ५ वर्षमै समृद्धि हासिल गर्ने दाबी गर्नुभयो । नोवल पुरस्कार प्राप्त व्यक्तिसमेत नेपालमा गाँजा उद्योगका लागि लगानी गर्न तयार रहेको जानकारी दिँदै विद्युत र अरु उद्योग भन्दा नेपालले छिट्टै गाँजा उद्योगबाट फाइदा लिने उहाँको भनाइ थियो ।

नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लले अध्ययन गरेर गाँजा खेती शुरु गर्न सकिने जानकारी दिनुभयो।