
काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओली व्यवहारमा रसिक छन्। मंगलबार प्रतिनिधिसभामा कांग्रेसले अवरोध गरेपछि उनले बोल्न पाएनन्। त्यसपछि उनले साँझ पाँच बजे पत्रकार सम्मेलन गरे।
गुठी विधेयक फिर्ता लिइएको जानकरी दिए। पहिला बोल्न माग गर्दै वेल घेराउ गरेको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवालाई व्यंग्य कसे। अनि अन्तिममा सञ्चार माध्यम संक्रमणकालमा रहेको बताउँदै टेलिभिजनहरूले – तपाईं सम्बोधन नगरेकोमा चित्त दुखाए।
प्रधानमन्त्री ओलीको पत्रकार सम्मेलनमा प्रश्न सोध्ने पत्रकार भेटिएनन्। नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले पत्रकारतर्फ हेरे। अनि ओलीलाई यत्ति हो भनेर सोधे। ओलीले नेम्वाङलाई जवाफ दिए,‘यत्ति हो। उहाँको कुनै जिज्ञासा नै छैन।’
आफ्नो कुर्सीबाट उठ्दैगर्दा पत्रकार ऋषि धमला हात जोड्दै प्रधानमन्त्रीसामु पुगे। उनले प्रधानमन्त्रीलाई सोधे, ‘प्रश्न उत्तर हुँदैन?’ प्रधानमन्त्री ओली केहीबेर चुप लागे। अनि टेलिभिजनमा कुनै समय ‘धमलाको हमला’ कार्यक्रम चलाउने पत्रकार धमलालाई नै व्यंग्य कसे।
‘तपाईंको विधेयकले संस्कृतिको मुटुमा छुरी हानेको छ भनेको क्या हो?’, ओलीले धमलालाई प्रश्न गरे। धमला हाँसे। र जवाफ फर्काए, ‘मैले भनेको छैन नि हजुर!’
‘किन छैन?’, ओलीले आफूतर्फ हातको औंलाले इशारा गर्दै धमलालाई जवाफ फर्काउँदै भने, ‘टिभी हेर्ने मै यहाँ छु।’ ओलीको जवाफपछि धमला खुलेरै हाँसे।