
काठमाडौं। समता अस्पतालमा कार्यरत् एक कर्मचारीले ‘झुन्डिएर आत्महत्या’ गरेको विषयलाई लिएर मृतकका आफन्त र स्थानीयवासीले प्रदर्शन गर्नुका साथै समता अस्पताल र समता स्कुलमा तोडफोड गरेका छन् ।
काठमाडौंको कुमारीगालस्थित समता अस्पतालमा कार्यरत् रामेछापकी विमला तामाङले आत्महत्या गरेको घटनालाई लिएर सो क्षेत्र मंगलबार दिनभर तनावग्रस्त बन्यो ।
अस्पतालमा ‘स्वीपर’कोरुपमा कार्यरत् २७ वर्षीया मृतक विमलाका आफन्त र स्थानीयवासीले अस्पताल हाताभित्र तोडफोड गरेपछि तनाव उत्पन्न भएको हो ।
अस्पतालका कर्मचारीहरुकै मिलोमतोमा उनको हत्या गरिएको भन्दै आफन्तजन र टोलवासीले सो क्षेत्रको बाटो अवरुद्ध गरी ढुंगामुढा गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले कयौं सेल अश्रुग्यास प्रयोग गर्नुका साथै लाठीचार्जसमेत गर्नुपरेको थियो।
विमलाले लगाएको लुगाको खल्तीमा भेटिएको ‘नोट’मा ‘अस्पतालका तीनजना कर्मचारीलाई कारबाही गर्नू’ भन्ने लेखिएको भेटिएपछि आक्रोशित प्रदर्शनकारी र आफन्तजनले सुनियोजित हत्या भन्दै नोटमा उल्लेख गरिएका व्यक्तिहरुलाई हत्याराकारुपमा कारबाहीको माग गर्दै प्रदर्शन चर्काएका थिए।
नियमित काममा गएकी विमला कार्यालय समयपछि घर नआएको र विगत केही सातादेखि ताला लगाएको कोठामा झुन्डिएको अवस्थामा फेलापरेकाले हत्या भन्ने पुष्टि हुने मृतकका आफन्त नारायण ठोक्करको दाबी छ ।
यता, प्रहरीले भने घटनाबारे अनुसन्धान गरी दोषीलाई कारबाही गरिने बताएको छ ।
अस्पतालमा काम गरेवापत केही समयदेखि पारिश्रमिक पनि नपाएकाले अस्पतालका कर्मचारीसँग विमलाको बारम्बार विवाद हुने गरेको परिवारजनको भनाइ छ ।
अस्पताल प्रशासन र मृतकका आफन्तबीच मृतकका बालबालिकाको पालनपोषण र दोषी भनिएकाहरुमाथि कारबाहीको विषयमा सहमति भएपछि शव ‘पोस्टमार्टम’का लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ ।
उता, अस्पतालका कर्मचारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदर्शनकारीहरुले समता अस्पतालनजिकै रहेको स्कुलमा पनि तोडफोड गर्ने प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । विद्यार्थीहरु पढाइमा रहेकै बेला तोडफोडको प्रयास भएपछि विद्यार्थीहरु त्रसित बनेका थिए ।