भारतमा रहेको कम्पनीले नेपालमा सयौं युवा ठग्दै, कतै तपाईं पनि पर्नुभएन ?

काठमाडौ। रोल्पा नगरपालिका–६ का सन्तकुमार घर्तीमगर कक्षा १२ मा पढ्दै थिए । काकाका छोरा दुर्गा्सिंह घर्तीमगरले स्वास्थ्यसम्बन्धी काम गर्न बोलाएपछि भारतको गोरखपुर गए । दुर्गा्सिंहले सन्तकुमारलाई गोरखपुरस्थित ओरियन्टस ग्लोबल मार्के्टिङ प्रालिमा पुर्‍याए ।

त्यहाँ उनले ‘मल्टिलेभल मार्के्टिङ’ गर्न ८ हजार भारु तिरेर एक साताको तालिम लिए र भारु १ लाख रुपैयाँ बराबरको औषधि बोकेर फर्किए । त्यसपछि उनको काम भयो, औषधि गाउँगाउँमा बेच्ने र उक्त कम्पनीमा पुर्‍याएर अरूलाई सदस्य बनाउने ।

दुर्गा्सिंह भने गोरखपुरको कुडाघाटस्थित भारतीय सेनाको क्याम्पमा भर्ती हुन जाँदा असफल भएपछि एक नेपालीकै प्रलोभनमा परेर उक्त कम्पनीमा पुगेका थिए । दुर्गा पनि ८ हजार भारु तिरी एक साताको तालिम लिएपछि २० हजार भारुको औषधि किनेर गत पुसमा कम्पनीको सदस्य बनेका थिए ।

राजविराज नपा–१४ का रामकृष्ण ठाकुर प्यूठानको भिंग्री भन्ने ठाउँमा कपाल काट्ने व्यवसाय गर्छन् । नजिकको साथीले लोभ्याएपछि उनी पनि त्यस कम्पनीको कार्यालयमा पुगे । तालिम लिए । औषधि किनेर सदस्य बने र अरूलाई सदस्य बढाउन जुटे । सन्तकुमार, दुर्गा्सिंह, रामकृष्ण अहिले प्रहरी नियन्त्रणमा छन् । प्रतिबन्धित नेटवर्क व्यवसायमा संलग्न भएको र अरूलाई पनि आबद्ध गराएको आरोपमा उनीहरू पक्राउ परेका हुन् । (कान्तिपुर दैनिक)