
भरतपुर । यतिखेर रंगशाला निर्माणको काम ठप्प छ । निर्माणस्थल सुनसान छ । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालाको काम रोकिएको २० दिन भयो । रोकिएको काम पुनः सुचारू गर्न आग्रह भए पनि निर्माणकर्ता धुर्मुस–सुन्तली फाउन्डेसनले अझै काम थालेको छैन । रंगशालामा डोजर लगाएपछि स्थानीय प्रशासन, राजनीतिकर्मी, भरतपुर महानगरले बैठक नै बसेर काम पुनः सुरू गर्न आग्रह गरेका थिए ।
तर, धुर्मुस–सुन्तली भने वातावरण धमिलिएको र घटनाले ठूलो चोट पुगेको भन्दै काठमाडौँ लागे । कतै गौरवको यस आयोजना बन्दै नबन्ने वा चितवनमा नबन्ने भन्नेबारे जनस्तरमा व्यापक चर्चा छ । जनताको शंकाका कारण प्रतिक्रिया दिँदै धुर्मुस भन्छन्, ‘ढुक्क हुनोस्, रंगशाला बने चितवनमा नै बन्छ अन्त कहीँ पनि बन्दैन ।भनेको समयमै परियोजना सम्पन्न गरिछाड्ने उनले बताए ।
निर्माण पुनः सुरू भएको सन्देश दिन घटनाको केही दिनपछि प्रहरी, जनप्रतिनिधि, केही स्थानीय, अभियन्ताहरुको सहभागितामा भत्काइएको बार उठाइएको थियो । त्यसपछि पनि धुर्मुसले कामलाई निरन्तरता दिएनन् । रंगशालामा डोजर लगाएका आरोपितहरु पनि जेठ २६ गते छुटेलगत्तै केही दिन भत्काएको संरचना उठाउन र अन्य सहयोगमा सामेल भए । तर पनि धुर्मुसले तत्काल काम गर्ने वातावरण नभएको भन्दै काम नै रोकिदिए ।
रंगशालामा डोजर लगाएको घटना अन्तर्राष्ट्रियस्तरमा नकारात्मकरुपमा फैलिएकोले समस्या भइरहेको फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताए । सहयोगी मनहरु चिन्तित र दुःखित भएकाले रकम संकलनमा समस्या भइरहेको उनले बताए । फिल्डमा काम रोकिए पनि डीपीआर निर्माणको काम जारी रहेको समेत उनले जानकारी दिए । निर्माण सहजताका लागि महानगरमै सम्पर्क कार्यालय पनि स्थापना गरिएको छ । त्यहाँ पनि कुनै काम नभएको कर्मचारी बताउँछन् ।
माहोल बनेपछि आउँछु : धुर्मुस
रंगशाला निर्माणका मुख्य अभियन्ता धुर्मुसले जिल्लामा पुनः रंगशाला निर्माणको माहोल बनेपछि आउने बताएका छन् । फोन सम्पर्कका क्रममा उनले भने– आउनोस्, बनाउनोस् भने पनि बिग्रिएको माहोल बनेको छैन, माहोल बनेपछि आउँछौँ ।’ मुख्य पाटो आर्थिक संकलन रहेकाले यसैलाई जोडेर अभियानहरु द्रुतरुपमा अघि सारिए फेरि माहोल बन्ने र काममा फर्कन सहज हुने उनको भनाइ छ ।
छिट्टै आउनुहुन्छ : मेयर
भरतपुर महानगरकी मेयर रेनु दाहालले रंगशाला निर्माणका मुख्य अभियन्ता धुर्मुस–सुन्तली छिट्टै चितवन आउने र काम पुनः सुरू हुने बताइन् । हाम्रो नियमित सम्पर्क भइरहेको छ, उहाँहरु केही दिनमै आउँछौँ भन्नुभएको छ’, मेयर दाहालले भनिन् । स्थगित भएको काम सुचारू गर्न जिल्लामा गठन भएको सहयोग समितिको बैठक आज बुधबार राखिएको उनले बताइन् । बाहिर हल्ला भएजस्तो असहज परिस्थिति नभएको उल्लेख गर्दै मेयर दाहालले समयमै काम सक्नका लागि कहीँकतैबाट पनि अवरोध नहुने बताइन् । रंगशालामा सुरक्षाका हिसाबले प्रहरी नायब निरीक्षकको कमान्डमा टोली नै खटाइएको छ ।
स्वागत गर्न आतुर छौँ : आरोपित
गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा डोजर लगाई बार भत्काएको आरोपमा पक्राउ परेका आरोपितहरुले आफूहरु रंगशाला निर्माणमा लागिपरेको बताएका छन् । उनीहरुले डोजर लगाउनु दुःखद घटना भएको स्वीकारेका छन् । जनताको मागलाई व्यक्तिको मुद्दामा जोडी चरित्रहत्या गर्ने काम भएको भन्दै उनीहरुले आपत्तिसमेत जनाएका छन् ।
यस्तो थियो घटना
गत जेठ १५ गते रंगशालाको पश्चिमपट्टि सडक विस्तारका लागि भन्दै फाउन्डेसनले निर्माण गरेको जस्तापातासहितको बार स्थानीयले भत्काएपछि समस्या उत्पन्न भएको थियो । देश र विदेशमा रहेकाहरुले गलत काम भएको भन्दै आक्रोश पोखे । तर, स्थानीयले भने आफूहरुको सडक विस्तारसम्बन्धी मागमा महानगर चुपचाप बस्दा जटिल स्थिति आएको बताए । आरोपमा स्थानीय प्रशासनले १८ जनालाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको थियो । आरोपितहरु सहमतिमा छुटे पनि मुद्दा चालू अवस्थामा नै छ ।