
काठमाडौ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता जनार्दन शर्माले रुकुमका लागि छुट्याइएको बजेट प्रधानमन्त्री केपी शर्मा ओली र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठको जिल्लामा लैजान माग गरेका छन् । बजेट विनियोजन गर्ने क्रममा मन्त्रालयले नेता र आफूमुखी गरेको भन्दै शर्माले बुधबार बसेको संसद बैठकमा आक्रोश व्यक्त गरेका हुन् । साथै उनले नेतामुखी बजेट बनाइएको भन्दै दुःख व्यक्त गरेका छन् । शमाले संघीयता आएपछि पिछडिएका क्षेत्रले पनि बजेट पाउने आशा गरे पनि त्यो हुन नसकेको बताए ।
‘भौतिक योजना मन्त्रालयका मन्त्रीजीलाई आग्रह गर्न चाहन्छु यो रकमान्तर गरेर झापा हालियोस् । प्रधानमन्त्रीजीलाई सहयोग गर्न चाहन्छु । झापा मात्रै भन्यो भनेर मन्त्रीजीलाई दुःख लाग्छ भने थोरै जनकपुरमा पनि लगियोस् । मेरो शुभकामना छ’, शर्माले भने, ‘संघीयता भएपछि सन्तुलित विकास होला, पछि परेका क्षेत्रले प्राथमिकता पाउलान् भन्ने लागेको थियो । केन्द्रीकृत र नेतामुखी बजेट बनाइयो, दुःख लागेको छ ।’
शर्माले बजेटमाथिको छलफल समय खेर फाल्ने मेलो भएको भन्दै असन्तुष्टि पोखेका थिए । उनले बजेट निर्माणका क्रममा व्यापक छलफल गर्ने र बजेट पेश गरेको दिन नै पारित गर्ने व्यवस्था गर्नुपर्ने बताए । उनले भने, ‘छलफलको सिस्टम बदलौँ, व्यर्थमा समय खेर फालिरहेका छौँ। यो समयको दुरुपयोग भएको छ । संसदमा यो गर्नु ठीक छैन ।’
शर्माले श्रम तथा रोजगार मन्त्रीका काममा पनि असन्तुष्टि जनाएका थिए । मुलुकमा नै रोजगारीका अवसर सिर्जना गर्न लाग्नुपर्नेमा मन्त्री विदेशीसँग सम्झौता गरेर नै छाती फुलाइरहेको भन्दै आलोचना गरे । ‘मुलुकभर श्रम सहकारी गठन होलान्, युवाहरूलाई तालिम दिइएला । विकास निर्माणका काम होलान् र युवाहरूले रोजागरी पाउनलान् भन्ने लागेको थियो,’ उनले भने, ‘तर, अहिले विदेशमा कहाँ के सम्झौता भयो भनेर छाती फुलाउने अवस्था आयो । देशको शिर निहुरिएको छ । फेरि पनि मन्त्रीलाई धन्यवाद दिनै पर्यो ।’