
बझाङ। वैशाख महिनाको पहिलो हप्ता मजदुरी गर्न भारत गएका खड्का जेठ ३२ गते घर फर्किनुभएको थियो । उहाँका जेठा छोरा सन्देश खड्काको असार ५ गते विवाह गर्ने निधो भएको थियो । छोराको बिहेकै लागि उहाँ हतारहतार घर फर्किनुभएको थियो।
जेठ ३२ गते घर पुगेका खड्का घरमा तयारी सकेर गरगहना किन्न सोमबार सदरमुकाम चैनपुर जानुभएको थियो । साथमा श्रीमती जुनधारा, कान्छा छोरा सरोज र आफन्त पर्ने ८ वर्षीया विपना खड्का पनि थिए । उनीहरुले सदरमुकाम चैनपुरमा रहेको लक्ष्मी विकास बैङ्कबाट १ लाख ५० हजार कर्जा लिएको छिमेकी बसन्त खड्काले बताउनुभयो ।
आफूलाई साक्षी राखेर छोराको विवाहका लागि भन्दै कलकले १ लाख ५० हजार रुपैयाँ ऋण निकालेर गरगहना तथा अरु सरसामान पनि किनेको बसन्त बताउनुहुन्छ । तर गरगहना र बिहेका अरु सरसामान घर पुर्याउन नपाउँदै उनीहरु दुर्घटनामा परे । छोरोको बिहेको लागि किनमेलसँगै गाउँघर र आफन्तलाई निम्तो पनि पठाइसकिएको थियो । तर छोराको बिहे गर्ने धोको अधुरै रह्यो ।सोमबार दिउँसो मष्टा गाउँपालिका वडा नम्बर १ को डौठी भन्ने ठाउँमा से १ ज १०७२ नम्बरको जीप दुर्घटनामा एकै वडाका १० जनाको निधन भएपछि गाउँ नै शोकमा डुबेको छ ।