
कोपनहेगन। पृथ्वीमा बढ्दो हरित गृह प्रभावका कारण संसारभरका वैज्ञानिक चिन्तित छन् । यही बीचमा हिउँ पग्लिएको एउटा फोटो अहिले निकै भाइरल भइरहेको छ । यो फोटो ग्रिनल्याण्डमा डेनिस मेट्रोलोजिकल इन्स्टिच्युटका वैज्ञानिक स्टिफन ओल्सनले १३ जूनमा खिचेका हुन् । फोटोमा कुकुरहरु पानीमा स्लेज तानेर लिएर गइरहेका छन् । ओल्सनका अनुसार यो ताल भएको ठाउँमा केही दशकअघि डेढ मिटर बाक्लो हिउँ जमेको हुन्थ्यो ।
स्लेज हिउँले ढाकिएको स्थानमा सामान ढुवानी गर्ने साधन हो । यसलाई त्यहाँका स्थानीय कुकुरहरुले तान्छन् । स्लेज हिउँमा तानिने साधन हो तर अहिले हिउँ पग्लिएपछि कुकुरहरु पानीमा स्लेज तान्न बाध्य भएका छन् । ओल्सनले यो फोटो ग्रिनल्याण्डको इंगलफिल्ड ब्रेडनिङ फियोर्ड मा खिचेका हुन् । डेनिस मेट्रोलोजिकल इन्स्टिच्युटमा ओल्सनका सहयोगी रास्मुस टोनबोका अनुसार ग्रिनल्याण्डमा बाक्लो हिउँ र समुद्री हिउँ तीव्र गतिमा पग्लिइरहेको छ । हिउँ पग्लिँदै जाँदा पहाडमा ताल बनिरहेका छन् ।
डिएमआइ नजिकै रहेको कानाक विमानस्थलमा अघिल्लो बुधबार १७.३ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरियो । यो उत्तर ग्रिनल्याण्डमा इतिहासकै सबैभन्दा उच्च तापक्रम हो । ग्लोबल वार्मिङका कारण यहाँको हिउँ तीव्र गतिमा पग्लिइरहेको छ । वैज्ञानिकका अनुसार जून वा जुलाइमा यसअघि हिउँ पग्लिने घटना हुँदैनथ्यो तर अहिले हिउँ जम्ने ठाउँ ताल बनेका छन् । यसले पूरै विश्व प्रभावित हुने वैज्ञानिकहरु बताउँछन् ।