प्रधानमन्त्री ओली संकटमा

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शक्तिशाली अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्रको निर्णय प्रक्रिया र समीकरणमा कमजोर बन्न थालेको विश्लेषण सुरु भएको छ ।

काठमाडौंमा सम्पन्न बिम्स्टेकको सम्मेलनदेखि अहिले चर्चामा रहेको वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने विषयसम्म आइपुग्दा ओलीको प्रभाव सचिवालयभित्रसमेत कमजोर देखिएको छ । बुधबार बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सर्वसम्मत् निर्णय गर्‍यो ।

यो निर्णय सार्वजनिक नहुँदै प्रधानमन्त्री ओलीले आफूनिकटका नेताहरुमार्फत् सचिवालयको निर्णय मान्न सरकार बाध्य नहुने सन्देश सार्वजनिक गराए । जसको प्रभाव सार्वजनिक मञ्चदेखि सामाजिक सञ्जालमा समेत पोखियो । वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई निरन्तरता दिने कि चुनाव हारेका वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने भन्ने बहसमा प्रधानमन्त्री ओली खतिवडाकै पक्षमा उभिनुले नेकपा नै विभाजित हुने त हैन भन्नेसम्मको आशंका चुलियो ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालले सचिवालयको निर्णय मान्न प्रधानमन्त्री ओली बाध्य रहेको र वामदेव गौतम नै सांसद बन्ने खरो जवाफ फर्काएपछि अन्ततः अहिले नेकपाले मध्यमार्गी बाटो पहिचान गरेको छ । यसरी प्रधानमन्त्री ओली पार्टीभित्रको शक्ति संघर्ष र मोर्चाबन्दीमा पछि हट्नु परेको यो पहिलोपटक हैन । यसअघि, अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने पूर्वमाओवादी धारको प्रस्तावमा पूर्वएमालेकै शीर्ष नेताले साथ दिँदा ओलीले अडान त्याग्नु परेको थियो ।

यसबाहेक पार्टीको कार्यदिशाका रुपमा ओलीले अडान लिएको जनताको बहुदलीय जनवादसम्बन्धी विषय, उपाध्यक्ष पद सिर्जना गर्न पार्टीको विधान संशोधन गर्ने प्रश्न, पार्टीको एकता प्रक्रियामा पूर्वमाओवादी धारलाई दिने भूमिका, जनवर्गीय संगठनभित्र पद विभाजनको विषय, बिम्स्टेक सम्मेलनपछिको संयुक्त सैन्य अभ्यासको प्रयत्न, भेनेजुएलाको राजनीतिक संकट, युनिफिकेसन चर्चको होलीवाइन प्रकरणजस्ता दर्जनभन्दा बढी अडानमा ओली चुक्नु परेको छ ।

विश्लेषकहरु यसरी पटक–पटक पार्टीभित्रैबाट घेराबन्दीमा परिरहँदा प्रधानमन्त्री ओलीले मध्यावधि चुनावमा जाने अप्रिय बाटो रोज्न सक्ने जोखिम औंल्याउँछन् । अहिले प्रधानमन्त्री ओलीमाथि अमेरिकी सहयोग परियोजना ‘एमसीसी’लाई संसदबाट पास गराउनै पर्ने अर्को दबाब छ । यसमा पनि नेकपाको एउटा बलियो धारले ओलीको प्रतिबद्धता र प्रयत्नमा तगारो हालिरहेको छ ।

यो दुई वर्षयता शक्तिशाली सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री ओलीको राजनीतिक कद र प्रभाव पार्टीभित्रै निरन्तर पुड्को बन्दै गएको छ भन्ने दृष्टान्त हो । भिडियो हेर्नुहोस्: