नेपालगंजमा ६५ विघामा ‘वाटरपार्क’ बन्दै, १० विघामा तलाउ मात्र

नेपालगंज। लामो समयको पर्खाइपछि नेपालगंजको बहुप्रतिक्षित ठूलो योजना भित्रको वाटरपार्क निर्माणको काम धमाधम भइरहेको छ।

‘वाटरपार्क निर्माण भएपछि हाम्रो नेपालगञ्जको पहिचान नै बदलिन्छ,’ नेपालगञ्ज उपमहानगरपालिका-१ का अध्यक्ष प्रमोद रिजालले भने, ‘ आर्थिक समृद्धि र विकासमा यो कोशेढुङ्गा सावित हुनेछ।’ वाटरपार्कको कूल ६५ बिघा क्षेत्रफलमध्ये १० बिघा तलाउले ओगटेको छ।
तलाउलाई नौका विहार र पौडी पोखरीका रुपमा विस्तार गरिने छ।

पार्कमा आकर्षक र मनमोहक फूलबारी, चिल्ड्रेनपार्क, व्यापारी प्रयोजनका पसल कोठा लगायतका संरचना निर्माण हुनेछन्।

‘कुचुक्क परेको हाम्रो धम्बोझी टोलको बीचमा रहेको वाटरपार्क निर्माणले यो वडाको स्वरुप नै फेरिन्छ,’ स्थानीयवासी रघुवीर मिश्रले खुशी हुँदै भने, ‘यहाँ हाम्रो व्यापार बढछ, हाम्रो जीवनस्तर पनि फेरिन्छ।’ हुन पनि, स्थानीयवासी मिश्रले भनेजस्तै वाटरपार्क निर्माणको डिजाइन पनि त्यसरी नै भएको छ।

नेपालगञ्ज नगर विकास समितिले निर्माण गर्ने वाटरपार्कमा नेपालगञ्जको सुर्खेत सडकदेखि बर्दियाको गुलेरिया सडक जोड्ने २१ मिटर चौडाइको मुख्य सडक पनि जोडिने छ।

नेपालगञ्जको वाटरपार्क निर्माणको योजना ११ वर्षअघि तयार गरिएको थियो। २०६५ सालमा शुरु भएको यो योजना सुरुवाती चरणमा जग्गा अधिग्रहणको क्रममा स्थानीयसँग कुरा नमिल्दा यसको निर्माण झण्डै पाँच वर्ष पर धकेलियो। अहिले जग्गा अधिग्रहणमा कुरा मिलेपछि निर्माणको कामले गति लिएको छ।

‘यो योजनाको अनुमानित लागत रु ७० करोड हो,’ नेपालगञ्ज नगर विकास समितिका अध्यक्ष गोपाल पुनले भने, ‘अबको चार वर्षभित्र निर्माण सक्ने हाम्रो लक्ष्य छ।’ नगर विकास समितिले अहिले वाटरपार्क क्षेत्रमा अधिग्रहण गरेको जग्गाको प्रमाण पुर्जा तयार गरिसकेको छ।

‘दुई/चार दिनभित्र जग्गा धनीलाई प्रमाणपुर्जा वितरण गरिसकेपछि समितिको मातहतमा रहेको यो पार्कलाई नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिने छ,’ अध्यक्ष पुनले भने। पश्चिम नेपालकै नमूना बन्न लागेको वाटरपार्क निर्माणमा बजेटको निकासा रोकिएन र अन्य व्यवधान आएन भने समयभित्रै निर्माण सक्ने समितिको लक्ष्य छ।

वाटरपार्क संरचना अन्तर्गत अहिले पिलर, पर्खाल, फुटपाथ र ग्रिनबेल्ट निर्माणको काम भइरहेको छ। निर्माणको काम छिटो सक्न पाँच वटा ब्लक खडा गरिएको छ। प्रत्येक ब्लकलाई छुट्टाछुट्टै कामको जिम्मेवारी पनि तोकिएको छ।

आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्ने, आर्थिक विकासको आधार बलियो बनाउने र नेपालगञ्जको पहिचानलाई थप उचाइमा पुर्या उने वाटरपार्क योजना जसरी पनि सफल गर्नुपर्नेमा यहाँका जनप्रतिनिधि, नागरिक समाज, राजनीतिक दल र सर्वसाधारण एकमत छन्।