सर्लाहीमा विप्लव समूह र प्रहरीबीच दोहोरो भीडन्त, जिल्ला इन्चार्जको मृत्यु

सांकेतिक तस्वीर 

काठमाडौं। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको समूहसँग सर्लाहीमा प्रहरीको दोहोरो भीडन्त भएको छ । सर्लाहीको लालबन्दीमा दोहोरो भीडन्त भएको हो । भीडन्तमा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडपमा विप्लवको पार्टीका जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले लोकान्तरलाई जानकारी दिए । उनले विप्लवका जिल्ला इन्चार्ज पौडेलसहितको टोलीले प्रहरीमाथि आक्रमण थालेपछि जवाफी फायरिङ हुँदा पौडेलको मृत्यु भएको बताए ।

पोखरेलका अनुसार लालबन्दीमा दुई वटा मोटरसाइकलमा आएका चार जना विप्लव कार्यकर्ता र प्रहरीबीच जम्काभेट हुँदा भिडन्त भएको थियो । घटनापछि विप्लवका कार्यकर्ता जंगलतर्फ भागेको प्रहरीले जनाएको छ । नम्बर नखुलेको एफजेट बाइक र ना २२ प ६४ नम्बरको निलो पल्सर बाइकमा उनीहरू सवार रहेको बताइएको छ ।