गुठी विधेयकविरूद्ध आन्दोलनमा आन्दोलनकारी तथा प्रहरीलाई पानी बाड्ने यी वृद्ध को हुन ?

काठमाडौ। गुठी विधेयकविरूद्ध बुधबार माइतीघर मण्डलमा आयोजित खबरदारी सभाको एउटा दृश्य सामाजिक सञ्जालमा खुबै लोकप्रिय भयो, जसमा खोकनादेखि आएका एक वृद्ध प्रहरीलाई पानी खुवाउँदै थिए।उनी को हुन्? यही आन्दोलनमा मात्र पानी बाँड्न आएका हुन् कि यो उनको कामै हो? केही दिनयता गुठी विधेयकको विरोध हुँदा सरकारले जग्गा अपचलन रोक्न यस्तो कानुन ल्याएको जिकिर गरेको थियो। मन्त्रीहरूको कुराले उनीहरूमा गुठी भनेकै जग्गा-जमिन हो भन्ने बुझाइ सुनिन्थ्यो। त्यो बुझाइ गलत हो भन्ने थाहा पाउन पानी खुवाउने तिनै वृद्धको कथा सुने पुग्छ।

उनको नाम लोकबहादुर महर्जन हो। उमेर ६३ वर्ष। उनी खोकनाको लः, अर्थात् पानी गुठीका सदस्य हुन्।कुनै समय राजकुलोदेखि धारासम्म पानी प्रबन्ध गर्न ‘पानीय गोष्ठिका’ थियो। गुठी त्यही ‘गोष्ठिका’ बाट आएको हो।पानीय गोष्ठिकाले लेले, चापागाउँ, सानोगाउँ, ठेँचो, सुनाकोठी लगायत ठाउँबाट पानी ल्याएर पाटन, टुँडिखेलका चार पोखरी भरेको पाइन्छ। त्यही पानी पाटन अस्पतालको पोखरी हुँदै जावलाखेलको ठूलो पोखरीसम्म ल्याइन्थ्यो। हाल सहरका राजकुलो र पोखरीहरू धेरैजसो मासिइसके। कुलो खनेर पोखरी भर्ने काम अब बाँकी छैन। काम मासिए पनि त्यस्ता गुठीको सञ्जाल भने मासिएको छैन। राजकुलोदेखि पानी ल्याउन नपरे पनि त्यस्ता गुठीका गुठियार जात्रापर्वमा खानेपानीको प्रबन्ध गर्दै आएका छन्।खोकनाको श्रीसिकाली लःमंका खलःका सदस्य लोकबहादुर तिनैमध्ये एक हुन्।

उनका अनुसार यो खल:ले करिब ३० वर्षदेखि जात्रापर्वमा पानी खुवाइरहेको छ। यसमा महर्जन समुदायकै १४ जना आबद्ध छन्। जात्रापर्व सञ्चालन गर्ने गुठीसमेत मासिने गरी विधेयक बनेको विरोधमा आयोजित खबरदारी कार्यक्रममा उनीहरू पनि सक्रिय थिए। ‘हामी हिजो १२ बजेतिर मात्रै मण्डलमा पुग्यौं। प्रहरीले बाटोमा गाडी जान दिइरहेको थिएन्, पानी खुवाउन जान लागेको भनेपछि बल्ल छाड्यो,’ प्रदर्शनमा पानी खुवाउँदाको अनुभव साट्दै महर्जनले भने, ‘हामी करिब १० जना थियौं। कोही साथीहरू आफ्नै समस्याका कारण आउनुभएन। हामीले २५ जार पानी ल्याएका थियौं। त्यसलाई बाटोमा खुवाउदै हिँड्दा सबैले राम्रो प्रतिक्रिया दिनुभयो।’

उनीहरूले आन्दोलनकारीसँगै प्रहरीलाई पनि पानी खुवाए। सबैले आफ्नो कामको सम्मान गर्दै फोटो खिच्दा खुसी लागेको उनले बताए। ‘तपाईंहरूले यस्तो राम्रो काम गर्नुभएको छ भन्दै धेरैले हामीलाई धन्यवाद दिनुभयो,’ महर्जनले खुसी हुँदै भने, ‘यसले हाम्रो हौसला बढेको छ।’ लःमंका खलःले विभिन्न जात्रापर्वमा पानी खुवाउँदै आएको छ। उनीहरू नजिकका जात्रापर्वमा मात्र होइन, पानी खुवाउन टाढाटाढा पनि जान्छन्।

नयाँ वर्षमा चम्पादेवीमा मेला लाग्छ। उनीहरू अघिल्लो दिन नै पुगेर भोलिपल्ट पानी खुवाएर फर्कन्छन्। त्यसका लागि तौदहदेखि पानी भरेर लैजाने उनले बताए। पहिले उनीहरू सबै ठाउँ हिँड्दै जान्थे। अचेल भने गाडी चढ्ने गरेका छन्। चम्पादेवीबाहेक सिकाली, रातो मच्छिन्द्रनाथ लगायत विभिन्न पर्वमा सक्रिय भएर पानी खुवाउँछन्। खोकनाका स्थानीयले प्रत्येक वर्ष दसैंको साटो सिकाली पर्व मनाउँदै आएका छन्। यो पर्वमा हिन्दु धर्मका विभिन्न १४ देवीदेवताको पूजाआजाका साथै परम्परागत नाच र संगीत प्रदर्शन गरिन्छ।

खोकनामै रहेको लःमंका खलः ले यही पर्वबाट आफ्नो संस्थाको नाम ‘श्री सिकाली लःमंका खलः’ राखेको हो।ललितपुरको ठूलो रथयात्रा रातो मच्छिन्द्रनाथको जात्रामा भने यसपालि ल्याएको पानी नपुग्दा नरमाइलो लागेको महर्जनले बताए। ‘हामी विशेषगरी नरिवल खसाल्ने र भोटो देखाउने दिन जावलाखेल पुग्ने गरेका छौं। यसपटक ५० वटा जार लिएर गएका थियौं,’ उनले भने, ‘त्यो नपुगेर जावलाखेल युवा क्लबमार्फत् २० वटा जार ल्यायौं। पहिले नपुगेको पानी ढुंगेधाराबाट ल्याएर पुर्याउथ्यौं, अहिले त्यो पनि सुकिसक्यो। अर्कोपालिदेखि सयवटा जार ल्याउने विचार गरेका छौं।’

लःमंका खलः खुल्नुअघि पनि महर्जन एक्लै पानी खुवाउँदै हिँड्दा रहेछन्। त्यो बेला करिब १५ वर्षका थिए। खेती-किसानी गर्ने महर्जन बटुवालाई पानी खुवाउँदै हिँड्नु आफ्नो सोख भएको बताउँछन्। त्यो बेला पानी खुवाउँदाको अनुभव साट्दै महर्जनले भने, ‘लगनखेलको नमूना मच्छिन्द्र स्कुलनजिकै र जावलाखेलमा ढुंगेधारा थियो। हामी त्यहीँको पानी खुवाउँथ्यौं। अब ती सबै सुकिसके। पानी पनि फोहोर भयो। त्यसैले, जारकै खुवाउने गरेका छौं।’दिनभर पानीको जार र खर्पनमा गाग्री बोकेर हिँड्ने उनी तिर्खाएकाको प्यास मेट्नुलाई ठूलो धर्म मान्छन्।

‘किसान हुँ, खर्पन बोक्ने बानी नै छ, त्यसैले गाह्रो हुँदैन,’ उनले भने, ‘हामी त यसरी पानी खुवाउनमै रमाउन थालिसक्यौं। जात्रा र यस्तै ठूल्ठूला प्रदर्शन हुँदा दिनभरी खटिनेलाई बरू कति गाह्रो हुँदो हो!’ महर्जनका अनुसार खोकनादेखि जात्रापर्वमा जाँदाको बाटोखर्च र पानीको जार किन्ने खर्च सबै आफ्नै खल्ती र केही दाताको सहयोगबाट हुँदै आएको छ। पानीको गाग्री भने तत्कालीन ललितपुर नगरपालिकामार्फत् उपलब्ध भएको उनले बताए। त्यति बेला नगरपालिकाले आठवटा गाग्री दिएको थियो, अहिले उनीहरू वडा कार्यालयसँग थप मागिरहेका छन्।‘१४ जना सदस्यलाई गाग्री नै पर्याप्त छैन। त्यसमाथि कुनै कुनै काम नलाग्ने भएका छन्,’ उनले भने।

सरकारले गुठी विधेयक लेख्दा गल्ती भएको थियो भन्ने अझै स्वीकारेको छैन। जनदबाबका कारण विधेयक फिर्ता लिने निर्णय गरे पनि गुठी भनेको जग्गा-जमिन मात्र हो भन्ने सरकारी प्रतिनिधिहरूको बुझाइ बदलिएको देखिन्न।कम्तिमा पानी बाँड्दै हिँड्ने लोकबहादुर महर्जनको गुठीकै बारेमा सोधपुछ गरे पनि काठमाडौं संस्कृति र परम्परामा गुठीको महत्व थाहा पाउने थिए।