सर्लाही भिडन्त बारे यसो भन्छ प्रहरी, कसरी भिडन्त हुन पुग्यो ?

काठमाडौ। सर्लाहीमा प्रहरी र नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच गोली हानाहान भएको छ । दोहोरो गोली हानाहानमा विप्लव समूहका सर्लाही जिल्ला इन्चार्जको मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्त डिआइजी विश्वराज पोखरेलले दोहोरो भीडन्तमा विप्लव समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल मारिएको जानकारी दिए ।

बिहीबार दिउँसो सर्लाहीको लालबन्दी नगरपालिका- १ लखनदेवी खोला नजिक प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको प्रवक्ता पोखरेलले बताए । विप्लव कार्यकर्ताको पिछा गरिरहेको प्रहरीमाथि विप्लव समूहले गोली चलाएपछि जवाफी कारवाही गरेको पोखरेलको भनाइ छ ।

‘विप्लव कार्यकर्तालाई पिछा गरिरहेको प्रहरीमाथि दुईवटा मोटरसाइकलमा रहेका उनीहरुले गोली हान्दै जंगल तर्फ भाग्न खोजेका थिए’ प्रवक्ता पोखरेलले भने,‘विप्लव समूहले फायर खोलेपछि प्रहरीले प्रतिफायर गरेको हो ।’

दोहोरो गोली हानाहानका क्रममा पौडेलको घटना स्थलमै मृत्यु भएको र अन्य तीन जना भने दुईवटा मोटरसाइकल छोडेर जंगलतर्फ भागेको उनको भनाइ छ । पौडेलको साथबाट पेस्तोल र गोली बरामद भएको उनले बताए ।