बाँस्कोटा पुनः मन्त्री बन्ने लगभग तय, रावल पनि चर्चामा

काठमाडौं। दोस्रोपटक मिर्गौलाको सफल प्रत्यारोपण पश्चात् प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल बाट केहि दिनमै डिस्चार्ज हुँदै छन् । उपचारमा संलग्न चिकित्सकहरूका अनुसार यो हप्ता भित्रै प्रधानमन्त्रीको डिस्चार्जको तयारी रहेको जनाएका छन् ।

प्रधानमन्त्री ओली अस्पताल बाट डिस्चार्ज भएसँगै मन्त्रिमण्डल पुनर्गठन गर्ने प्रधानमन्त्री ओलीको तयारी छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री ओलीले यो पटकको मन्त्रीमण्डल पुनर्गठनमा माधवकुमार नेपाल समूहबाट पार्टी स्थायी कमिटी सदस्य भिम रावललाई मन्त्री बनाउने तयारी गरेका छन् । यस्तै युवा नेता महेश बस्नेत र सोमप्रसाद पाण्डे पनि मन्त्रीनण्डलमा समावेश हुँदै छन् ।

अर्थमन्त्री युवराज खतिवडालाई राष्ट्रियसभामा लैजान पार्टी सचिवालय बाट अवरोध खेपेका प्रधानमन्त्री ओलीले पाण्डेलाई अर्थमन्त्री बनाउने तयारी गरेको बताइन्छ । त्यतिमात्रै होइन कमिशन प्रकरणमा मुछिएपछि मन्त्री बाट राजीनामा दिएर बसेका गोकुल प्रसाद बाँस्कोटालाई पनि पुनः मन्त्री बनाउन तयारी थालिएको स्रोतको भनाइ छ ।

कमिशन प्रकरणलाई लिएर अदालतमा मुद्दा दायर भै सकेकोले अदालतले नै यो प्रकरणको निरुपण गर्ने भन्दै अदालत बाट प्रमाणीत नभएसम्म बाँस्कोटालाई दोषी मान्न नसकिने भन्दै प्रधानमन्त्री ओलीले मन्त्रीका रूपमा पुनः नियुक्त गर्न लागेको बताइन्छ । केहि ओली पक्षका नेताले विवादको निरुपण नभएसम्म बाँस्कोटालाई मन्त्री नबनाउन सुझाव दिएपनि प्रधानमन्त्री ओली मान्न तयार नरहेको समेत स्रोतको दावी छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराएका ओलीले जनतामा प्रत्यक्ष सरकारको प्रभाव देखाउनेगरि आफ्नो टिममा नयाँ सदस्य थप्न खोजेका छन् । त्यसको लागि उनले माधव नेपाल पक्षका नेताहरुलाई पनि सहभागी गराउने निधो गरेका छन् । पछिल्लो समय पार्टीभित्र अल्पमतमा परेपछि ओलीले नेता नेपालको साथ खोजेका छन् । ओली र नेता नेपालबीच हिमचिमपनि बढिरहेको छ ।

केही सार्वजनिक कार्यक्रममा समेत नेता नेपालले ओलीको लाईनामा आफ्ना अभिव्यक्ति दिएका छन् । उनले जनताको बहुदलीय जनवादको औचित्य अझैपनि बाँकी रहेको भन्दै यसको उपदेयताको बारेमा प्रकाश पार्दै हिँडेका छन् । पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने विषयमा पार्टीको निर्णयलाई नै च्यालेन्ज गरेका ओलीले आफूलाई पार्टीभित्र बलियो बनाउँदै लगेका छन् । त्यसकै अर्को कडीको रुपमा उनले नेता नेपालका नेताहरुलाई सहभागी गराएर मन्त्रिमण्डल पूनर्गठन गर्न लागेको बुझिएको छ ।